धर्नामा रहेका धनगढीका स्वास्थ्यकर्मी कालोपट्टीबाँधेर काममा फर्किने
2023/03/31, 1:57
 
धर्नामा रहेका धनगढीका स्वास्थ्यकर्मी कालोपट्टीबाँधेर काममा फर्किने

धनगढी - आजदेखी कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर साकेंतिक बिरोध गर्दै काम गर्ने बताएका छन्।धनगढी उपमहानगरपालिकाले पछि भर्ना गर्नेगरी २ महिनाको पारिश्रमिक उपलब्ध गराउने सहमती गरेपछि उनिहरुले धर्ना रोकेका हुन् ।

उप महानगरपालिकाले तत्काल २ महिनाको पारिश्रमिक आफ्नै कोषबाट उपलब्ध गराउनुका साथै पारिश्रमिकका लागी संघ सरकारसंग पहल गर्ने प्रतिबद्धता गरेपछि उनिहरु काममा फर्केका हुन् । काममा फर्केपनि पुरा पारिश्रमिक नपाउँदासम्म हातमा कालो पट्टी बाँधेर उनिहरु काम गरिरहेका छन्।

आफ्ना माग फेरी सम्बोधन नभए चर्को आन्दोलनमा जाने उनिहरुको चेतावनी छ। उनीहरुले बिगत ६ महिनादेखि मासिक तलबभत्ता पाउन सकेका छैनन्। बिहीवार कर्मचारी ट्रेड युनियनको अगुवाइमा नगरपालिकासँग गरिएको वार्तापछि स्वास्थ्यकर्मीको धर्ना स्थगित भएको हो। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा बन्द गरेर आन्दोलन गर्दा सर्वसाधारणलाई मर्का पर्ने भन्दै नियमित काममा जाने तर बिरोध स्वरुप कालोपट्टी बाधेर काम गर्ने आन्दोलनरत स्वास्थ्यकर्मीले बताएका छन्।

धनगढीका स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको विषयमा कर्मचारी संगठनहरूले पनि ध्यानाकर्षण भएको भन्दै उपमहानगरलाई तलबभत्ता खुवाउन आग्रह गरेका थिए। उपमहानगरपालिकाले यो महिनाभित्र संघीय सरकारबाट रकम निकासा गराएर कर्मचारीहरूलाई तलबभत्ता खुवाउने प्रतिबद्धता गरेपछि धर्नाको कार्यक्रम स्थगित गरिएको धनगढीको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिएका छन् ।