बैतडी बुडाल मृत्यु प्रकरणः ४ जना कारागार चलान, पाँच धरौटीमा छुटे
2023/04/01, 11:37
 
dd

बैतडी दशरथचन्द नगरपालिका १० का २५ वर्षीय जीवन बुडाल मृत्यु प्रकरणमा मुछिएका चारजनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ।फागुन १३ गते साथी र इष्टमित्रसँग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए।

बिहीबार जिल्ला अदालत बैतडीले बुडालको हत्या आरोप लागेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। दशरथचन्द नगरपालिका १० का गजेन्द्र सिंह रावल,अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र नारायण सिंह ऐरीलाई पूर्वक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए।

तीन जनालाई जनही १ लाख ५० हजार र दुई जनालाई ५० हजार धरौटीमा रिहा गरिएको छ। जसअनुसार पुष्पराज भट्ट, टेक सिंह खत्री र जितेन्द्र सिंह ऐरीलाई जनही १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । श्यामु सिंह ऐरी र नविन सिंह ठगुन्ना जनही ५० हजार धरौटीमा छुटेका छन् । केशव सिंह रावल, मोहन सिंह ठगुन्ना र भुवन राम लुहारलाई सामान्य तारेखमा रिहा गरिएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिए । लुहार जिप चालक हुन्। राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचकको रुपमा बझाङमा कार्यरत बुडाल विदामा घर आएका बेला साथीहरुसँग पिकनिक गएका थिए।