बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली दुर्गम बस्तीमा सडक पहुँच पुगेसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आएको छ। दैनिक उपभोग्य सामग्री ल्याउन एक हप्ता हिँडेर सो क्षेत्रका स्थानीय सदरमुकाम मार्तडी बजारसम्म आउने गरेका थिए। सडक पहुँच पुगेपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु गाउँमै पुगेको छ। लामो समयदेखि पिठिउँमा भारी बोकेर जीवन गुजारा गर्दै आएका यहाँका स्थानीयवासीले घरआँगनमै उपभोग्य वस्तु खरिद गर्ने गरेका छन्।
हिमाली गाउँपालिकाका–४ का स्थानीय नवराज भण्डारीले गाउँपालिकाले अधिकांश बस्तीमा सडक पहुँच निर्माण गरेको बताए । गाउँमा सडक पहुँचसँगै सदरमुकाम मार्तडीबाट एक हप्ता लागेर दैनिक उपभोग्य सामग्री बोक्नुपर्ने अवस्थाको अन्त्य भएको भण्डारीले बताए ।उहाँले प्रत्येक बस्तीमा सडक पहुँच गरेपछि यहाँका अधिकांश स्थानीयको जीवनशैलीसमेत बदलिएको बताउनुभयो। बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका नागरिकले हप्तौँ लगाएर नुन, तेल, ल्याउनुपर्दथ्र्यो। अहिले त्यो सामान घरमै पुग्छ। पहिला यहाँका स्थानीयवासीको महिनौँका लागि सामान बजार गएका बेला एकै पटक ल्याउनुपर्ने समस्याको समेत अन्त्य भएको भण्डारीले बताए ।
अहिले गाउँपालिकाले पाँच वडाका बस्तीमा सडक पुयाएको छ। गाउँपालिका अधिकांश ठाउँ आलु र स्याउ उत्पादनमा उर्वर मानिन्छ। सडकले यहाँका कृषि उपज वस्तु बजारीकरणमा सहज भएको छ। विगतमा कृषकले उत्पादन गरेका आलु, सिमी र स्याउ खेर जाने गरेका थिए। अहिले स्थानीय सरकारले गाउँमै सडकको पहुँच गरिदिएसँगै यहाँका कृषकलाई कृषि उपज वस्तु बजारसम्म पुयाउन निकै सहज भएको छ। मुगुको जिल्लासँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले पनि त्यत्तिकै महत्त्वपूर्ण मानिन्छ। स्थानीय सरकार आउनुपूर्व यो गाउँपालिकामा सडक सञ्जाल कतै जोडिएको थिएन। स्थानीय सरकार गठन भएपश्चात् अहिले बाजुराकै दुर्गम भनेर चिनिँदै आएको हिमाली गाउँपालिकाको गाउँबस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय रजबहादुर भण्डारीले, अहिले सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको बताए।उनले सडक पहुँचसँगै गाउँलेले आफ्ना उत्पादन बजारसम्म पु९याउन सहज भएकाले आर्थिक जीवनस्तरसमेत उकासिने क्रममा रहेको बताए । उहाँका अनुसार पछिल्लो एक दशकयता धुलाचौर, धिम, बोर्तालगायतका बस्तीमा ठूलो परिवर्तन आएको छ। पहिला यहाँ गाउँमा कोही सामान्य बिरामी परे स्टे«चरमा बोकेर अस्पताल पु९याउनु पर्दथ्र्यो। अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन सहज भएको छ।
उनका अनुसार विकास भनेको नै यही हो, पहिला अहिलेको जस्तो मोटरगाडी हिँड्ने सडक नहुँदा आउजाउमा निकै सास्ती खेप्दै आउनु परेको थियो। कर्णाली नदीको छेउमै साँघुरो तथा गोरेटोमा हिँड्नुपर्ने हुन्थ्यो। यसरी जोखिम मोलेर त्यो बाटोमा हिउँदा कैयौँको ज्यानसमेत जाने गरेको थियो। गाउँमा पुगेका सडकले अहिले ती समस्या टरेको छ।
गाउँमा बिजुली थिएन, टुकीका भरमा रात काट्नुपर्ने र पढ्ने लेख्ने बेलामा पनि त्यसैको सहारा लिनु पर्दथ्यो। नुन, तेल ल्याउन हप्तौँ लगाएर मार्तडी बजारमा जानु पर्दथ्र्यो। अहिले गाउँपालिकाले सडक र बिजुलीलाई पहिलो प्राथमिकता राखेपछि त्यो सबै समस्या टरेको प्रमुख प्रशासकीय प्रमुख भण्डारीले बताए। गाउँपालिकाका उपाध्यक्ष गोविन्दबहादुर मल्लले गाउँबस्ती छरिएकाले एकै पटक विकास हुन नसके पनि बिस्तारै गाउँको मुहार फेरिन थालेको बताए ।