बैतडीको खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु
2023/04/05, 11:03
 
ss

बैतडीको खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु भएको छ। बैतडी,बझाङ र डडेल्धुरा जोड्ने जिल्लाको मुख्य नाका खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरिएको हो । सिद्धेश्वर स्वास्थ्यचौकीले सञ्चालन गर्ने गरेर खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए।

खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि जिल्लाको पाटन नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई फाइदा पुग्ने वडा अध्यक्ष बिष्टले बताए। पाटन नगरपालिकाले हालै नयाँ एम्बुलेन्स खरीद गरेपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो।

सिद्धेश्वर स्वास्थ्यचौकीमा अब नियमित चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन हुने सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए। एम्बुलेन्सको जिल्ला दररेट अनुसार दररेट कायम गरिने वडा अध्यक्ष बिष्टले बताए। समस्यामा परेका, अति विपन्न नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहज तरीकाले एम्बुलेन्स सेवा उपलब्ध गराउने बिषयमा छलफल भइरहेको वडा अध्यक्ष बिष्टले बताए।