सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा फैलिदै सलह
2020/07/01, 1:14
 
salah

दुई दिनअघि कैलाली पुगेको सलह सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा फैलिदै गएको छ । कैलाली हुँदै डडेल्धुरा, डोटी र वैतडीमा सलह पुगेको हो । पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएका छन् । केही दिनअघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि उक्लिएको हो ।  

मंगलबार पाटन नगरपालिका १० को ठाँटामा सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले जानकारी दिए । उनले भने, ’पाटन नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानले खबर गरेपछि हामीले फिल्डमा जाँदा सलह किरा भेटायौं । अहिले धेरै ठूलो झुण्ड नभए पनि एक दुई सयको झुण्ड देखा परेको वडा अध्यक्ष गणेशदत्त भट्टराईले बताए ।

किराले बाली नोक्सान गर्छ कि भन्ने चिन्तामा किसान रहेको उनले बताए । फेदकटुवा किरा र फौंजी किराको प्रकोप झेलिरहेका बैतडीका विभिन्न ठाउँका किसान सलह किरा  देखिन थालेपछि चिन्तित बनेका छन् ।’ फेदकटुवा किराले मकैबाली नष्ट गरेपछि दोश्रो पटक मकै लगाएका छौं । त्यसमा फेरी सलह किरा पनि देखिएको छ, किसान केशवराज भट्टले भने, ’यो वर्ष अनिकाल होला जस्तो छ ।’

बैतडीमा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पुर्याउन नसक्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले बताए ।  बारीमा सलह देखा परेमा ठूलो आवाजमा थाल बजाउनुपर्ने, बाजा बजाउनुपर्ने र राति सलह बसेको ठाउँमा विषादी छर्कने सल्लाह दिएको कृषि शाखा प्रमुख अवस्थीले बताए । बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ ।