डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेश कार्यालय तथा शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले ५० हजार रुपैया सहयोग गरेका छन्। डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाजद्धारा जारी अभियानमा एभरेष्ट बैंकका तर्फबाट कर्मचारीहरुले ५० हजार रुपैया सहयोग गरेका हुन्।
एभरेष्ट बैंकको प्रादेशिक कार्यालय र बझाङको सुर्मा, तल्कोट र चैनपुर, डोटीको दीपायल, शिखर, कैलालीको टीकापुर, लम्की, बौनिया, सुख्खड, अत्तरीया, कञ्चनपुरको झलारी,महेन्द्रनगर लगायतका शाखाका कर्मचारीहरुले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेका हुन्। सामाजिक उत्तरदायित्व बहन गर्दै एभरेष्ट बैंकका कर्मचारीहरुले डडेल्धुरामा पीसीआर मेसिन स्थापनका लागि सहयोग गरेको बैंकका प्रादेशिक प्रमुख सतिश प्रताप सिंहले बताए। एभरेष्ट बैंक सुदूर पश्चिम प्रादेशिक कार्यालयले यसअघि पनि कोरोनाको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गरेको थियो।
कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाको सुबिधाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाले डडेलधुरामा पीसीआर स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ ।