बैतडी झौलेक जिप दुघर्टनाका फरार चालक पक्राउ
2023/04/13, 12:34
 
ss

बैतडी झौलेक जिप दुघर्टनाका फरार चालक पक्राउ परेका छन् । बैतडीको झौलेकमा जिप दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरा ढोल्यामोडबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार पक्राउ परेका चालक बोहरा माथी सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन ८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा बझाङ केदारस्यू बाँझका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

जिप सवार पाँचजनाले हाम फालेर ज्यान जोगिएको थियो । दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए। उनीहरूले चालक,साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गर्दै शव नबुझ्ने अडान लिएका थिए । चालक र सवारी धनि सम्पर्कमा आएर केदारस्युँ गाउँपालिकाले पनि क्षतिपूर्ति दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता गर्दै शव बुझेका छन्। भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन्। ओभरलोडका कारण उकालो सडकमा एक्कासी जिप ब्याक भएर भीरमा खसेको थियो।