सिँचाइ अभावका कारण बाजुराका अधिकांश ठाउँको जमिन बर्सेनि बाँझो रहने गरेको छ। नौवटै स्थानीय तहमा खेती गर्ने जमिन प्रशस्त भए पनि सिँचाइको अभावका कारण जमिन बर्सेनि बाँझो रहने गरेको हो। उब्जाउ जमिन हिउँद र बर्खामै बाँझो रहँदै आएपछि यहाँका स्थानीयले भोकमरीको समस्या झेल्दै आउनु परेको छ। गाउँमा कमाइखाने जमिन प्रशस्त भए पनि त्यो जमिनमा सिँचाइ नहुँदा खेती गर्न नसकिएको स्थानीय बताउँछन्।
बूढीगङ्गा नगरपालिका–१० का स्थानीय मनबहादुर सार्कीले आफूसँग प्रशस्त जमिन भए पनि खेती गर्न सिँचाइ नहुँदा बाँझो राख्नु परेको बताए। उनले सिँचाइको अभावले सधैँ जमिन बाँझो राख्नु परेको छ तर पनि बाँझो जमिनको कर भने स्थानीय सरकारलाई बुझाउँदै आएका छन्। भारतबाट कमाइ गरेर बाँझो जमिनको पनि कर बुझाउने गरेको उहाँले बताए । वर्षऔं देखि खानेपानीको समस्या २०७८ सालमा बल्ल समाधान भयो। अब कतैबाट यो जमिनमा हिउँद बर्खा सिँचाइको व्यवस्था हुन पाए पेट पाल्नकै लागि भारतमा जानुपर्ने थिएन, सार्कीले भने।
बर्खा सुरु भयो, सिँचाइको सुविधा भएको भए धान खेती गर्नु हुन्थ्यो, जमिन छ, सिँचाइ छैन, आकाशे पानीको भरमा असार–साउनमा त्यो जमिनमा कोदो रोप्ने गरेका जगनाथ गाउँपालिका–२ का असारे सार्कीले बताए । आकाशबाट पानी नपरेपछि कोदो पनि सुकेर झुरीमरी हुने गर्छ, जमिन भएर पनि सिँचाइ नहुँदा भोकमरी झेल्नु परेको बाजुरावासी बताउँछन्। बाजुराको पूर्वी उत्तर क्षेत्रका स्थानीय तहमा खाद्यान अभाव हुने गर्छ। बाजुरामा करिब १६ हजार ७६५ हेक्टर जमिन भने सिँचाइ नहुँदा सधैँ बाँझो रहँदै आएको छ।
जगनाथ गाउँपालिका–२ का वडा अध्यक्ष धनवीर सार्कीले लुमा र हुनीको करिब सात सय हेक्टरभन्दा बढी जमिन सिँचाइको अभावका कारण बाँझो रहँदै आएको बताए । सिँचाइ नभएर जमिन बाँझो रहने गरेकाले यहाँका स्थानीय पेट पाल्नका लागि रोजगारी गर्न भारत जाने गरेका छन्। गाउँपालिका वा वडा पालिकाको रकमले सिँचाइ कुलो ल्याउन नसक्ने अवस्था छ। बाजुराको नौवटै स्थानीय तहमा करिब दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरि सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र, बाजुराले जनाएको छ।