बैतडीमा हत्या प्रकरण : संलग्न युवक फरार
2023/04/17, 12:27
 
बैतडीमा हत्या प्रकरण : संलग्न युवक फरार

बैतडी- दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवक संलग्न रहेको पाइएको छ। गाउँ नजिकै धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शनिबार बेलुकी ८ बजे जोशीको शव फेला गरेको थियो।

जोशीको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको प्रहरी निरीक्षक खत्रीले बताए। उनको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको प्रहरीको दाबी छ। ती युवकको नाम गोप्य राखिएको छ।

ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियार प्रहार गरेर जोशीको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गरी प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेका भनिएका युवक फरार रहेका छन्। फरार ती युवकको खोजी कार्य जारी रहेको र छिट्टै नियन्त्रणमा लिने प्रहरी निरीक्षक खत्रीको दाबी रहेको छ। उनको खोजीका लागि जिल्ला र जिल्लाबाहिर तथा सीमा नाकामा हुलियासहित पठाइएको छ। हत्या फरार रहेका ती युवकको मात्रै नभएर घटनामा अरु पनि संलग्न हुनसक्ने प्रहरीको अनुमान छ।

पुरानो रिसिइबीका कारण ती युवकले जोशीको ज्यान लिएको प्रहरीको अनुमान छ। केही महिना अघि मात्रै मृतक र हत्यामा संलग्न ती युवकका परिवारबीचको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र गराइएको खुलेको छ। सोही विवादका कारण अहिले पनि घटना भएको प्रहरीको आशंका छ। मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ।