बैतडीको मेलौली स्वास्थ्य शिविरबाट ५ हजार बढीले लिए सेवा
2023/04/24, 12:09
 
ss

बैतडीमा शुक्रबारदेखि सुरु भएको स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिकामा शुक्रबारदेखि सञ्चालन भएको बृहत स्वास्थ्य शिविरमा ५ हजार १५० जनाले सेवा लिएका छन् । एक हजार ५५० जनाले आँखाको सेवा लिएका छन् ।  जसमध्ये १३० जनाको आँखाको अप्रेशन भएको छ । रक्तदान संयोजक राज बहादुर चन्दका अनुसार ५१ जनाले रक्तदान गरेका छन् । 

बैतडी समाज कैलाली, च्यारेटी हेल्थ फाउण्डेसन र धनगढी नेत्रालयको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन भएको हो ।  तीन दिनसम्म  सञ्चालन भएको सो शिविरमा तल्लोसोराड क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएको शिविर संयोजक गजेन्द्रबीर चन्दले बताए। शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाहरु बढी थिए।

६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष रहेका संयोजक चन्दले बताए। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली र मणिलेक मावि काँडागरि दुई ठाउँमा भएको शिविर सञ्चालनमा आँखा, नाक,कान, घाँटी रोग सम्बन्धी सेवा दिइएको थियो। यस्तै बालरोग, स्त्रीरोग,समान्य स्वास्थ्य परीक्षण, हाडजोर्नी सम्बन्धी समस्यामा बिशेषज्ञ चिकित्सकहरुले शिविरमा सेवा प्रदान गरेका थिए।

शिविर सञ्चालनकै समयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान समेत गरेको आयोजकले जनाएको छ । बैतडी पुख्र्यौली घर भई हाल कैलालीमा बस्दै आएका व्यक्तिहरुको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तरगत शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकहरुबाट सेवा पाएपछि त्यहाँका नागरिक खुसी भएका छन्।

साथै बृहत् स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा। विद्याप्रसाद पन्त र डा।ओम प्रकाश पन्त, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा।नर बहादुर मौनी र डा। ज्ञानेन्द्र जोशी, जनरल फिजिसियन डा। चेतराज भट्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रवीन्द्र देव भट्ट र नर्सिङ डाइरेक्टर मञ्जु केसी, युरो सर्जन डा। जोनेश तिवारी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा। जीवन बाँनिया, बाल रोग विशेषज्ञ डा। सुमन नेपाल, दन्त रोग विशेषज्ञ डा।सन्तोष पाण्डेय र डा। सङ्गीता पाण्डेय, मानसिक, मनोरोग तथा नशा रोग विशेषज्ञ डा।साजन खड्का, मनोविज्ञान परामर्शदाता डा। सुशील चटौत लगायतका चिकित्सकहरुले शिविरमा सेवा प्रदान गरेको शिविरका संयोजक चन्दले बताए।