सशस्त्रको झुलाघाट बिओपीमा पूर्वाधारको अभाव
2023/04/24, 5:19
 
ss

भारतसंग सीमा जोडिएको झुलाघाटमा रहेको सशस्त्र प्रहरीको बिओपीमा पूर्वाधारको अभाव रहेको छ । अन्तरराष्ट्रिय सीमा क्षेत्रको सुरक्षाका लागि सीमामा खटिएको सशस्त्र प्रहरीले पूर्वाधारको अभाव झेलीरहेको हो ।

२०७७ सालमा बिओपी स्थापना गरेर झुलाघाटमा सशस्त्र प्रहरी बसेको भएपनि अहिले पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । झुलाघाटमा रहेको बिओपीमा सशस्त्र प्रहरीका लागि भान्छा घर, शौचालय, खानेपानी लगायतका अतिआवश्यक पूर्वाधारको अभाव रहेको बताइएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा बिओपीमा सशस्त्र प्रहरी रहेका भएपनि भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ ।

सशस्त्र प्रहरीको बिओपी महिला प्रहरी राख्नका लागि भवनको अभाव रहेको छ । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीका लागि भौतिक पूर्वाधार अभाव हुँदा समस्या भइरहेको छ । सीमासंग जोडिएको क्षेत्रमा राखिएका सुरक्षा फौंजहरुका लागि भौतिक व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने स्थानीय गणेशसिंह थापाले बताए । बैतडीमा भारतसंग ६१ किलोमिटर सीमा जोडिएको छ । ३१ किलोमिटर सीमा क्षेत्रमध्ये तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी राखिएका छन् । झुलाघाटसंगै शिवनाथको कुस्मौद घाट र पञ्चेश्वरमा सशस्त्र प्रहरीको बिओपी रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक गंगा पन्तले जानकारी दिए ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको लागि आवश्यक भौतिक व्यवस्थापनका बिषयमा मुख्यमन्त्रीको भ्रमणका बेला समेत कुरा उठेको छ । गएको साता मुख्यमन्त्री कमलबहादुर शाह सीमा नाका झुलाघाट पुगेका बेला बिओपीले झेलिरहेको भौतिक समस्याका बिषयमा जानकारी गराइएको छ । सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले भौतिक पूर्वाधार अभाव झेलिरहेको बिषयलाई आफूले गम्भीरतापूर्वक लिएको मुख्यमन्त्री शाहले बताए । प्रदेश निती योजना आयोगका उपाध्यक्ष मोहनदेव बिष्टलाई उनले यो बिषय जानकारीमा राख्न समेत आग्रह गरेका थिए ।