सुदूरपश्चिममा खोपबाट वञ्चित बालबालिकाको संख्या उच्च
2023/04/25, 12:45
 
aa

सुदूरपश्चिम प्रदेशमा पूर्ण खोप नलगाउने बालबालिकाको संख्यामा कमी आउन सकेको छैन । खोप नलगाउने र खोपको आंशिक मात्रा मात्र लगाउने बालबालिकाको संख्या अझै उच्च रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०२२ का अनुसार सुदूरपश्चिममा करिब १६ प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा लगाउँदैनन् । त्यस्तै करिब चार प्रतिशत बालबालिका खोप लगाउनबाटै वञ्चित रहने गरेका उक्त सर्भेक्षणले देखाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा। जगदीस जोशीले बताए ।

स्वास्थ्यकर्मीका अनुसार जन्मदेखि १५ महिनासम्म बालबालिकालाई विभिन्न रोगबाट बच्न १३ प्रकारका खोप लगाउनु पर्छ । सुदूरपश्चिममा त्यस्तो खोप लगाउनुपर्ने बालबालिकाको संख्या बर्षेनि करिब एक लाख हुने गरेको निर्देशनालयले जनाएको छ । करिब १६ प्रतिशत बालबालिकाले खोपको केहीमात्रा मात्र र करिब चार प्रतिशत बालबालिका एउटा पनि खोप नलगाउने गरेको सर्भेक्षणले देखाएको निर्देशक जोशीले जानकारी दिए । नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर प्रदेशभर खोप सोमबारबाट साताव्यापी खोप अभियान सञ्चालन भएको छ । डा। जोशीले बसाइँसराइँ, सचेतनाको कमी, पहुँच नहुनुजस्ता कारणले बालबालिकाहरु खोप लगाउनबाट वञ्चित हुने गरेका बताए ।

‘एक ठाउँबाट अर्को ठाउँमा बसाइ सरी जाँदा धेरै बालबालिकामा खोप लगाउन छुट्ने गरेका छन् ।’ उनले भने, ‘कतिपय ठाउँमा स्वास्थ्य संस्था नभेटाएर पनि खोप नलगाएको हुनसक्छ ।’ त्यस्तै रोजगारीका लागि भारत जाँदा कतिपय अभिभावकले बालबालिकालाई पनि सँगै लैजाने भएकाले उनीहरु खोपबाट वञ्चित हुने गरेका डा।जोशीले बताए । जन्मेदेखि १५ महिनासम्म नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले बताए । अभियानअन्तर्गत जन्मेदेखि १५ महिनासम्मको उमेरमा नियमित खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई सबै स्वास्थ्य संस्थाबाट खोप लगाउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

अभियानका क्रममा खोप लगाउनबाट वञ्चित बालबालिकालाई खोज्ने, खोपका फाइदबारे प्रचारप्रसार गर्ने, अभिभावकलाई सचेत गर्नेलगायत कार्य गरिने जोशीले बताए । जनसांख्यिक सर्भेक्षणले खोप नलगाएका र खोपको पूर्ण मात्रा नपाएका बालबालिकाको संख्या उच्च देखाए पनि निर्देशनालयको स्वास्थ्य सूचना प्रणालीमा भने खोप लगाउनबाट वञ्चित बालबालिका नदेखिएको उनले बताए ।