बैतडीमा औलोको जोखिम
2023/04/29, 10:26
 
dd

बैतडीमा पनि औलोको जोखिम रहेको छ। जिल्लाको मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका दुईओटा वडा औलोको उच्च जोखिममा रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। मेलौली नगरपालिका वडा नम्बर–४ र पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ औलोको उच्च जोखिममा रहेको बताइएको छ।

ती दुवै वडामा लामखुट्टे नष्ट गर्नका लागि बिषादी छर्किने अभियान जारी रहेको स्वास्थ्य प्रमुख भट्टले बताए। जिल्लाको अरु क्षेत्रको तुलानामा तल्लोसोराड क्षेत्रमा औलोको जोखिम बढी रहेको उनले बताए। महाकाली किनारका बस्तीहरुमा औलोको जोखिम रहेको छ। पहाडी क्षेत्रमा पनि लामखुट्टे उक्लिएसंगै औलोको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

मेलौली नगरपालिका–४ का झण्डै २६० र पञ्चेश्वर गाउँपालिका ६ का झण्डै १५० घरधुरीमा बिषादी छर्कने कार्य भइरहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताए। लामखुट्टे नष्ट गर्ने अभियान अन्तर्गत बिषादी छर्कने कार्य भइरहेको उनले बताए।

आर्थिक वर्ष २०७७/७८ मा बैतडीमा ४ जना औलोका बिरामी फेला परेकोमा गत आर्थिक वर्षमा २ जना बिरामी फेला परेका थिए। चालु आर्थिक वर्षको अहिले सम्म २ जनामा औलो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए।