सुदूरपश्चिम प्रदेश सरकारले उपचार सहजताका लागि दिएका एम्बुलेन्स स्वास्थ्य संस्था र पालिकाहरुले प्रदेश सरकारलाई नै फिर्ता गर्न थालेका छन् । एम्बुलेन्स बिग्रेपछि खर्चिलो र पहाडी जिल्लाका लागि अनुपयुक्त भएपछि एम्बुलेन्स पाएका स्वास्थ्य संस्था र पालिकाले साढे तीन वर्षमै सरकारलाई एम्बुलेन्स फिर्ता गर्न थालेका हुन् ।
प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई २०७६ कात्तिकमा हस्तान्तरण गरेको थियो । स्वास्थ्य क्षेत्रमा सुधारका लागि दिइएको एम्बुलेन्स आफै बिरामी पर्न थालेपछि मन्त्रालयमा एम्बुलेन्स फिर्ता पठाउन थालिएको छ । बारम्बार एम्बुलेन्स बिग्रिदा मर्मत गर्नै समस्या भएको पालिकाहरुले जनाएका छन् । यसैगरी, इन्धन पनि बढी खानेगरेको जनाएको छ ।
पहाडको साँघुरो बाटोमा चलाउन समस्या भएपछि सामाजिक विकास मन्त्रालयलाई नै एम्बुलेन्स फिर्ता गरेको बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगन ऐडीले बताए ।‘हाम्रो गाउँपालिकाको मटेला स्वास्थ्य चौकीले एम्बुलेन्स बुझेर ल्याएकै हो’ उनले भने, ‘पहाडमा चलाउन समस्या भएपछि कार्यपालिकाको निर्णयअनुसार मन्त्रालयलाई फिर्ता गरिसकेका छौं । धनगढीस्थित कोरोना अस्पतालमा एम्बुलेन्स राखिएको छ ।’
सो गाउँपालिकाले सात वटै वडामा सञ्चालन गर्नेगरी आफैले नयाँ एम्बुलेन्स खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइसकेको जनाएको छ । प्रदेश सरकारले टाटा कम्पनीको ४०७ मोडेलको एम्बुलेन्स गरिद गरेको थियो । यो मोडेलको गाडी एम्बुलेन्स नभइ मिनी ट्रकको रुपमा प्रयोग हुनेगरेको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो ।यसैगरी, एम्बुलेन्स खरिद प्रक्रियामा गम्भीर त्रुटि र आर्थिक अनियमितता भएको भन्दै तत्कालीन प्रदेश सभा बैठकमा बारम्बार कुरा उठेको थियो । सरकारले प्रदेशको १६ वटै निर्वाचन क्षेत्रमा एक–एक वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स दिएको थियो । तर, पहाडी क्षेत्रमा मात्रै नभइ तराईमा पनि एम्बुलेन्स टिकाउ बन्न सकेको छैन । बढी बिग्रिने र खर्चिलो भन्दै स्वास्थ्य संस्था र पालिकाले प्रदेश सरकारलाई एम्बुलेन्स फिर्ता गरिसकेको बताएका छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका, डिलासैनी, बझाङको केदारेस्युँ, बाजुराको बुढीगङ्गा नगरपालिकास्थित टाटे स्वास्थ्य चौकी, डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरिसकेको जनाएको छ । यस्तै, जिल्ला अस्पताल अछाम र डोटीले पनि पाएको एम्बुलेन्स फिर्ता गरेको जनाएको छ ।सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले बैतडीको एक पालिकाले मात्रै मन्त्रालयलाई एम्बुलेन्स फिर्ता बुझाएको बताए । ‘यहाँ बुझाइएको एम्बुलेन्सलाई सञ्चालनका लागि गोदावरी नगरपालिकाले लगिसकेको छ’ उनले भने, ‘अरु एम्बुलेन्स कहाँ बुझाइएको हो, हामीलाई जानकारी छैन ।’एम्बुलेन्सले इन्धन बढी खपत गर्नेगरेको गुनासो आउनेगरेको उनले बताए। ‘स्वास्थ्य संस्थाले एम्बुलेन्स बुझाए पनि त्यो यत्तिकै रहँदैन’, जोशीले भने, ‘अरु स्वास्थ्य संस्थाहरुले लगेर सञ्चालन गर्छन् ।’यो समाचार गोरखापत्र दैनिकमा छ।