कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघको निगरानी गर्न क्यामरा जडान
2023/05/02, 9:06
 
ss

कञ्चनपुरको दक्षिणी क्षेत्रमा क्यामरा जडान गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पचुईँ क्षेत्रमा बाघको निगरानीका लागि ६ वटा स्वचालित क्यामरा जडान गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिन थालेपछि क्यामरा जडान गरिएको छ। 

स्थानीयमा बाघको त्रास रहेका बेला राष्ट्रिय प्राकृतिक सरक्षण कोष, शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सहयोगमा डिभिजन वन कार्यालय कञ्चनपुरले सीमा क्षेत्रमा ६ वटा क्यामरा जडान गरेको हो। सीमा क्षेत्रमा बाघबाट थप घटना नघटोस भन्ने उदेश्यले ६ वटा स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको छ।

सोही क्षेत्रमा वैशाख ८ गते  घाँस काट्न गएकी बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईकी गंगा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो। सो क्षेत्र नजिक घाँसपात काट्न जान र खेतीपाती भित्र्याउन समेत समस्या भएको स्थानीयले गुनासो गरेका छन्। सीमा क्षेत्रका नागरिक बाघको त्रासमा रहेका हुन।