कञ्चनपुरका खानेपानी योजनामा बजेट अभाव
2023/05/05, 2:39
 
ss

कञ्चनपुरमा १६ वटा खानेपानी योजना निर्माणाधिन अवस्थामा छन्। जिल्लाका विभिन्न स्थानमा ती योजना सञ्चालनमा रहे पनि अहिलेसम्म चार योजनाको मात्र निर्माण पुरा भएको छ। साथै निर्माण पुरा भएका योजना समेत अहिलेसम्म उपभोक्तालाई हस्तान्तरण गरिएको छैन्। 

खानेपानी आयोजनाको निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा उपभोक्ताले सास्ती खेप्न परिरहेको छ। तत्कालीन खानेपानीमन्त्री विना मगरको कार्यकालमा जिल्लाभरि थुप्रै खानेपानीका योजना सुरु भएका थिए। दुई वर्षअघि मगर मन्त्रीबाट हटेपछि ती योजना पनि अलपत्रजस्तै छन्।

जिउलाल चौधरी खानेपानी संस्थानका अध्यक्ष र २०७४ मा कञ्चनपुर क्षेत्र १ बाट निर्वाचित सांसद मगर खानेपानीमन्त्री भएपछि जिल्लामा खानेपानीका दर्जनौँ योजना आएका थिए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि मगरले राजीनामा दिएसँगै ती योजनाले गति लिन सकेका छैनन्।

योजना सञ्चालनमा भए पनि बजेट अभावमा कामले तीव्रता नपाएको उपभोक्ताको गुनासो छ। पुनर्वासका स्थानीय एवं खानेपानी उपभोक्ता पदम तामाङले मगर मन्त्रीबाट हटेपछि अन्य खानेपानीमन्त्रीले यहाँका योजनालाई निरन्तरता र बजेट नै नदिएको गुनासो गरे। पाँच वर्षअघि सञ्चालनमा आएका योजना अहिलेसम्म पूर्ण र नियमित सञ्चालन हुन सकेका छैनन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार जिल्लामा हाल १६ खानेपानीका योजना सञ्चालनमा छन्। खानेपानी योजनाको चालू आर्थिक वर्ष २०७९र८० को हालसम्म भौतिक प्रगति ३८ दशमलल ७३ र वित्तीय प्रगति २० दशमलव ६३ प्रतिशत रहेको छ। जसमध्ये चार योजना मात्रै सम्पन्न भएका छन्। ती खानेपानी योजना पनि उपभोक्तालाई हस्तान्तरण गर्न बाँकी छन्। चालू आर्थिक वर्ष २०७९र८० मा ४९ करोड ५७ लाख बराबरको बजेट आएकाले सो बजेट सबै योजनामा वितरण गर्दा अपुग भएको छ।