बाजुरामा पहिरो पीडितका घर निर्माणको काम अलपत्र
2023/05/05, 2:41
 
ss

बाजुरामा पहिरो पीतिका घर निर्माणको काम अलपत्र परेको छ।

विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण नगरेर स्थानीयले मनोमानी ढङ्गले घर बनाउन थालेपछि निर्माणको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०७९/०८० मा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित भएका अम्कोटका स्थानीयका लागि घर निर्माणको काम सुरु गरिएको थियो।

बाढीपहिरा पीडित १०६ घरपरिवार मध्ये ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम पाएका छन्। पहिलो किस्ता पाएका ८५ जना मध्ये १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् भने ६७ जनाले अझै घर निर्माणको काम सुरु गरेको छैनन्। उनीहरुले प्राविधिकले भनेकै अनुसार घर निर्माण गरेको बताएका छन्। दोस्रो किस्ताको रकम नमिलेपछि घर निर्माणको काम अलपत्र परेको उनीहरुको दाबी छ। 

स्टिमेटमा प्रत्येक कुनामा एक–एक सरिया, जगको माथिमा दुई वटा सरियाले डिपिसी गर्ने र तल्ला नथप्ने गरी डिजाइन छ। विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण गरेको कागजात आएपछि मात्र दोस्रो किस्ता रकम दिने र त्यो भन्दा फरक भएमा दोस्रो किस्ता रकम नदिने बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए। उनले  घर निर्माणका लागि दोस्रो किस्ता रकम लिएर घर निर्माण नगरेमा पहिलो किस्ता रकम समेत फिर्ता गर्नुपर्ने बताएका छन्।