कैलालीको भजनी क्षेत्रमा बाघ देखिएपछि बस्तीमा सतर्कता
2023/05/06, 1:34
 
कैलालीको भजनी क्षेत्रमा बाघ देखिएपछि बस्तीमा सतर्कता

कैलाली - कैलालीको भजनी क्षेत्रमा ‘रेडियो कलर’ जडित पाटेबाघ देखा पर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ। भजनी नगरपालिका–५ को गुलरियाघाट तिकुनिया नाका क्षेत्रमा पाटेबाघ देखा परेपछि मानवीय क्षति नहोस् भनेर सुरक्षा सतर्कता बढाइएको हो।

सबडिभिजन वन कार्यालय भजनी, सुरक्षा निकाय, स्थानीय सरकारसहित सञ्चारमाध्यममार्फत सर्वसाधारणलाई सतर्क पारिएको छ। यसैगरी डिभिजन वन कार्यालयले बाघको निगरानी गर्ने कार्य गरिरहेको छ।विगत १०/१२ दिनयता सो क्षेत्रमा बाघको ओहोरदोहोर भइरहेकाले कुनै किसिमको मानवीय क्षति हुन नदिनका लागि सतर्क पारिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

“हामीले बस्तीनजिकको जङ्गलमा देखिएको बाघको निगरानी गरिरहेका छौँ,” उनले भने, “राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा तीनवटा स्वचालित क्यामरा राखेर बाघको निगरानी गर्ने कार्य भइरहेको छ।”बाघ देखा परिरहेको क्षेत्रमा तीनतिर मानव बस्ती छ। अहिले खेतमा रहेको उखु काटिएपछि त्यो बाघ भजनी नगरपालिका–५ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक कालिका सामुदायिक वनमा बस्न थालेको जनाइएको छ। गुलरियाघाटस्थित सशस्त्र प्रहरीको बेस क्याम्पनजिक माछापोखरी किनारमा सुतेको अवस्थामा बाघ देखिएको थियो।

यसैगरी ‘क्यामरा ट्र्याप’ गर्दा त्यसमा पनि बाघ देखा परेको छ। फोटोमा देखिएको रेडियो कलर जडित बाघ सम्भवतः पोथी रहेको वन कार्यालय प्रमुख रिजालले बताए। उनका अनुसार बाघ बस्तीनजिक आए पनि सम्भवतः नरभक्षी होइन तर सावधान रहन आवश्यक छ। बाघले सामुदायिक वनमा एउटा नीलगाई र अर्को गाई मारेर खाएको जनाइएको छ।त्यसको गर्धनमा रेडियो कलर देखिएकाले डार्ट गरेर ९लठ्याएर० छोडिएको बाघ हो। बाघ बूढो, बिरामी भएर सिकार गर्न नसकेर वा आफ्नो क्षेत्रबाट लखेटिएपछि मानव बस्ती क्षेत्रतिर आउने गरेको बताइन्छ।

वसन्ता कोरिडोरको भजनी क्षेत्रमा विगतमा समेत बाघ आए पनि फोटो भने सङ्कलन हुन सकेको थिएन। गत पुस–माघमा समेत वसन्ता, रामपुर, हसुलिया क्षेत्रमा रेडियो कलरजडित बाघ देखा परेको थियो। बाघहरू डमरु हुर्काउनका लागि वसन्तासहित भजनी क्षेत्रमा आउने गर्छन्।बाघ पहिलो पटक क्यामरा ट्र्यापमा पारिएको सामुदायिक वन समन्वय समिति भजनीका भूतपूर्व अध्यक्ष एवं संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो। “संरक्षण क्षेत्रबाहिर बाघ आउँछन् भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छ,” उनले भने, “वसन्ता कोरिडोरमा प्रायः बाघको ओहोरदोहोर भइरहन्छ।”

बाघको ‘मुभमेन्ट’ बस्तीको अलि नजिक भइरहेकाले सबैलाई सावधान रहन वन कार्यालयले आग्रह गरेको छ। उद्धार गरेर बाघ राख्नका लागि नेपालमा अब खाली ठाउँ छैन। त्यसैले जहाँबाट आएको हो, त्यहीँ नै फर्किन दिने रिजालले बताए ।“कुनै किसिमको मानवीय क्षति नहोस् भनेर सुरक्षा सावधानी बढाएका छौँ,” उनले भने, “बाघ जहाँबाट आएको हो, पछि त्यतै फर्किन्छ तर यहाँ बस्दासम्म सबै होसियार रहनु पर्दछ।”

हप्ता दिनअगाडि मात्रै कञ्चनपुरमा बाघले महिलाको ज्यान लिएको थियो। सो क्षेत्रमा एक महिनाको अवधिमा मान्छेमाथि शृङ्खलाबद्ध आक्रमण हुँदा तीन जनाको ज्यान गएको छ।सो बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित सदर चिडियाखाना पु¥याइएको छ। अब नेपालमा बाघ राख्नका लागि कतै पनि ठाउँ नरहेकाले यो बाघलाई उसको पुरानै स्थानतिर फर्किन दिनुपर्ने भनाइ विज्ञको छ।यो बाघ सम्भवतः भारतको दुधुवा नेसनल पार्कबाट आएको हुन सक्ने अनुमान गरिएको छ तर त्यसको लोकेसन ट्र्याकभन्दा बाहिर छ । भारतका अधिकारीसँग जानकारी लिँदा उनीहरूले रेडियो कलर जडान भएको बाघको लोकेसन ट्र्याकभन्दा बाहिर रहेको जनाएका छन्।गोरखापत्र