सुदूरपश्चिममा सरकार विस्तारमा ढिलाइ
2023/05/07, 11:33
 
ss

सुदूरपश्चिम सरकारले अझै सम्म पूर्णता पाउन सकेको छैन । २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका कमल शाहले फागुन २१ मा विश्वासको मत लिएका थिए । दुई तिहाइ बढि विश्वासको मत पाए पनि झन्डै तीन महिना सम्म सरकारले पूर्णता पाउन सकेको छैन ।

अहिले सम्म कांग्रेसकै प्रकाश देउवालाई भौतिक र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री शाहले माओवादी र नागरिक उन्मुक्तिका कुनै पनि सांसदलाई सरकारमा ल्याउन सकेका छैनन् । विगत चार महिना देखी चार वटा मन्त्रालय मन्त्री विहीन छन् ।

अहिले सम्म दुई ठुला दलबाट मन्त्री नियुक्त गर्न नसकेको भन्दै मुख्यमन्त्रीको आलोचना भइहरेको छ । । विभागीय मन्त्री नहुँदा बजेट निर्माणको काम पनि सुस्त भइरहेको छ । माओवादीले अर्थ र भौतिक मध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएको छ भने नागरिक उन्मुक्तिले पनि दुई मन्त्रालयमा दाबी गरिरहेको छ ।

दुवै पार्टीले दोस्रो र तेस्रो ठुलो दलसँग समन्वय नै नगरेर भौतिक र अर्थ मन्त्रालय भागबन्डा गरेकोप्रति आपत्ति जनाउँदै आएका छन् ।  तर, भौतिक र आर्थिक मामिला मन्त्री फेरिने सम्भावना कम रहेको बताइन्छ । भौतिक मन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन् ।  एकीकृत समाजवादीले अर्थमन्त्री आफ्नो पार्टीले नपाए केन्द्रकै सरकारको समीकरणमा समस्या पर्ने धम्की दिँदै आएको नागरिक उन्मुक्ति पार्टीका एक प्रदेशसभा सदस्यले बताए ।

दुवै पार्टीले सरकारमा जाने बताइसकेका छन् । कांग्रेस र समाजवादीका नेताहरू सरकारमा भएकाले उनीहरूले सरकार विस्तारबारे चासो दिएका छैनन् । तर, माओवादी र नागरिक उन्मुक्तिका अधिकांश सांसदहरू काठमाडौँमै दौडधुपमा सक्रिय रहेको माओवादीका एक प्रदेशसभा सदस्यले बताए । 

मुख्यमन्त्रीले सरकार गठनमा चासो नदेखाएको गठबन्धनका अन्य दलको आरोप छ । तर, केन्द्रमा शीर्ष नेताहरूबिच भागबन्डामा सहमति नभएकाले सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।  विश्वासको मत लिएपछि अहिलेसम्म संसद् समेत चलेको छैन । संसद्ले बिजनेस नपाएकोमा पनि सांसदहरूले गुनासो गर्दै आएका छन् ।