बेवारिसे बन्यो ऐतिहासिक महत्व बोकेको चुरेको गर्भा दरबार
2023/05/08, 11:14
 
ss

ऐतिहासिक महत्वको गर्भा दरबार बेवारिसे बन्दै गएको छ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बन्दै गएको हो ।  

ऐतिहासिक महत्व बोकेको दरबार कैयौँ वर्षदेखि प्रयोगमा नआएपछि अहिले अलपत्र अवस्थामा छ । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन।  त्यस्तै, झ्याल, ढोका सबै भत्किएका छन् । त्यसमा रहेका मूर्ति चोरी भइसकेका छन् । पर्यटन सम्भावनाको दरबार खण्डहरमा परिणत भएको छ । गर्भा दरबार अत्यधिक जीर्ण भइसकेकाले अब यसको मर्मत, सम्भार गर्न नसकिने चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । ‘मर्मत, सम्भार गर्न सकिन्न’, उनले भने,‘अब पुरानो संरचना भत्काएर त्यस्तै नयाँ बनाउनुको अर्को विकल्प छैन ।’ 

तत्कालीन राणा शासकहरूले पोत ९कर० उठाउने र मुद्दा मामिला मिलाउने उद्देश्यका साथ यो दरबार बनाएका बुझिएको छ । तर, ९५ वर्ष पुरानो दरबार २२ वर्षदेखि प्रयोगविहीन रहदा जिर्ण बन्दै गएको छ । स्थानीयका अनुसार १९७९ मा शिलान्यास गरिएको दरबार १९८४ मा बनाइएको थियो । यो दरबार बनाउन पाँच वर्ष लागेको थियो । 

जीर्ण भइसकेको दरबार भत्काएर बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २० करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाएको जनाइएको छ । तर, पुरातत्त्व विभागले अनुमति नदिँदा काम हुन नसकेको गाउँपालिकाका अध्यक्ष बोगटीले बताए । 

प्रदेश सरकारले गर्भा दरबारलाई पर्यटकीय स्थल बनाउन खोजेको जनाइएको छ । त्यसका लागि पुरानो संरचनालाई भत्काएर पहिलेको जस्तै नयाँ दरबार बनाउने गाउँपालिकाका अध्यक्षले बताए । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट छुट्ट्याए पनि काम नभएपछि बजेट फ्रिज गएको स्थानियले बताए ।