कैलाली र कञ्चनपुरमा पशुचौपायामा रेबिज संक्रमण बढ्दै, १५० पशुचौपाया मरे
पशुचौपायाको रेखदेख गर्दा होशियारी अपनाउनुपर्ने सुझाब
2023/05/09, 11:49
 
कैलाली र कञ्चनपुरमा पशुचौपायामा रेबिज संक्रमण बढ्दै, १५० पशुचौपाया मरे

कैलाली - पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कैलाली र कञ्चनपुरमा पशुचौपायामा रेबिज रोगको संक्रमण बढेको छ । तीन महिनाको अवधिमा यी दुई जिल्लामा २२ वटा पशु–चौपायामा रेबिज रोग देखिएको छ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख डा. नरेशप्रसाद जोशीले कैलालीमा चार र कञ्चनपुरमा १८ वटा पशु–चौपायाको नमुना प्रयोगशालामा परीक्षण गर्दा रेबिज रोग पुष्टि भएको बताए। गाई, भैँसी, बाख्रा र कुकुरमा रेबिज देखिएको उनले बताए । रेबिज देखिएको नेपालमै सबैभन्दा बढी संख्या रहेको र परीक्षणमा नआएको संख्या अझै बढी हुन सक्ने उनको भनाई छ ।

संक्रमित पशुबाट मानिसमा पनि रेबिज सर्न सक्ने र संक्रमित पशुको र्‍याल मानिसको शरिरमा भएको घाउचोटमा लागेमा वा परेमा पशुचौपायाबाट सजिलै रेबिज मानिसमा सर्न सक्ने जोशीले बताए । त्यसैले बिरामी पशुचौपायाको रेखदेख गर्दा होशियारी अपनाउनुपर्ने उनको सुझाब छ। तीन महिनायता कैलाली, कञ्चनपुरमा मात्रै रेबिजबाट थप १५० पशु–चौपायाको मृत्यु भएको उनको बताए।

परीक्षण गरिएकामध्ये धेरैजसो चौपायामा स्यालको टोकाइबाट रेबिज सरेको देखिएको जोशीले बताए । केही साताअघि कञ्चनपुरको कृष्णपुरमा एउटा स्यालमा रेबिज देखिएको थियो । पशु–चौपायालाई निरन्तर टोक्न थालेपछि स्थानीयले एउटा स्याललाई मारेका थिए । त्यसको नमुना परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ ।

त्यहाँ थप चौपायामा रेबिज परीक्षण हुन सकेको छैन । त्यस क्षेत्रमा पशु–चौपायालाई रेबिजविरुद्धको खोप लगाउन कृष्णपुर नगरपालिकालाई आग्रह गरिएको डाक्टर जोशीले बताए। दुई जिल्लामा परीक्षणमा नआएका धेरै चौपायामा रेबिज भएको हुन सक्ने उनको अनुमान छ । पशु–चौपायामा रेबिजको लक्षण देखिए खबर गर्न उनले आग्रह गरेका छन् ।