सुदुरपश्चिमको विकासमा सरकारी सञ्चार माध्यमको भुमिका महत्वपुर्ण
2023/05/09, 7:10
 
ss

सुदुरपश्चिमको विकासमा सरकारी सञ्चार माध्यमको भुमिका महत्वपुर्ण रहेको सरोकारवालाले बताएका छन् । कैलालीको धनगढीमा आज गोरखापत्र प्रकाशको १२३ औं बर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले सुदुरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि सरकारी सञ्चार माध्यमको  भूमिका महत्वपूर्ण रहेको औँल्याएका हुन् । 

गोरखापत्र संस्थान सुदुरपश्चिम प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा तीन तहको सरकार बने तापनि भौतिक विकासलाई मात्र विकास मान्ने परिपाटी र अधिकांश बजेट भौतिक विकासमा विनियोजन गरिनुले सरकारका सबै तहको विकास प्रतिको बुझाई कमजोर रहेको उनीहरुले उल्लेख गरेका छन् । प्रदेशको समग्र विकासका लागिा सामाजिक, सांस्कृतिक, आर्थिक, चेतनास्तर बृद्धि गर्ने लगायतका क्षेत्रका साथै विकास र समृद्धिका लागि भईरहेका कामहरुमा हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा सरोकारवालाको जोड रहेको छ । 

लोकतन्त्र बलियो हुन नागरिकको आवाज चर्काे हुनुपर्ने र त्यसका लागि सरकारी सञ्चार माध्यमहरुमा अंकुश लगाएर विधिको शासन स्थापित हुन नसक्ने भन्दै सरोकारवालाहरुले सञ्चार क्षेत्रको विकास र समृद्धिको साझेदार माध्यम भएको हुँदा त्यसको विकासमा राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिए । समाजलाई परिवर्तन गर्ने, व्यक्तिको विचार निर्माण र निर्णय गर्ने क्षमताको विकासमा सरकारी सञ्चार माध्यमले भुमिका खेल्नुपर्ने उनीहरुको भनाई छ ।  

प्रदेश सरकारको रकम विनियोजन, नागरिकको सहभागिता, पारदर्शिता,सेवा प्रवाह, कानुन निर्माण लगायतका विषयमा सरकारी सञ्चार माध्यमले कलम चलाउन जरुरी रहेको सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिव कमलराज ढकालले बताए ।  

सुदुरपश्चिम प्रदेश राजनैतिक, समाजिक र सांस्कृतिक रुपमा धनी रहेकोले ती र त्यस्ता बिषयहरुलाई पहिलो प्राथमिकता दिएर समाचार तथा सामाग्रीहरु प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जोड दिए ।  प्रदेश सरकारले प्रदान गर्ने सुचना, विज्ञापनलाई व्यवस्थित र समानुपाति गर्न विशेष नीति अख्तियार गर्दै सरकारी सञ्चार माध्यमलाई प्रवद्र्धन गर्न पनि आवश्यक रहेको गोरखापत्र संस्थानका सुदुरपश्चिम प्रमुख कृतबहादुर बिष्टले बताए ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह, महासंघका सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावल, जिल्ला अध्यक्ष हिमालय जोशी, प्राध्यापक देवराज अवस्थी लगायतले सरकारी सञ्चार माध्यमहरु गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राससले सुदुरपश्चिमको विकासमा खेलेको भुमिकाका बिषयमा बोल्दै आगामी दिनमा थप प्रभावकारी रुपमा सरकारी सञ्चार माध्यमहरु लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन गोरखापत्रका सुदुरपश्चिम संयोजक प्रकाश विक्रम शाहले सञ्चालन गरेका थिए ।