बैतडीको दशरथचन्दद्वारा श्रम स्वीकृति दिने कार्य शुरु
2023/05/13, 12:41
 
बैतडीको दशरथचन्दद्वारा श्रम स्वीकृति दिने कार्य शुरु

बैतडी - बैतडीको दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ। यसअघि वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि दशरथचन्द नगरपालिकाले श्रम स्वीकृती दिन थालेको हो।

सरकारले गएको चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहहरुको रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा दशरथचन्द नगरपालिकाले श्क्रवार पहिलो पटक कतार जान इच्छुक दशरथचन्द नगरपालिका–६का कोमलराम महरलाई श्रम स्वीकृति प्रदान गरेको नगरपालिकाका सुचना अधिकारी राजेन्द्र बिष्टले बताए।

उनलाई नगरप्रमुख पुस्करराज जोशीले श्रम स्वीकृति हस्तान्तरण गरेका हुन्। नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको महरले बताए। बिना झण्झट कम खर्चमा घरदैलोको सरकारले श्रम स्वीकृति प्रदान गर्दा खुसी लागेको उनले बताए। वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादिन बनाउनका लागि स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको नगर प्रमुख जोशीले बताए।