डोटीमा जनमोर्चा महासचिब भट्ट चढेको गाडी दुर्घटना
2023/05/17, 12:38
 
डोटीमा जनमोर्चा महासचिब भट्ट चढेको गाडी दुर्घटना

डोटी - डोटीमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट चढेको गाडी दुर्घटना भएको छ । आज बुधबार बिहान डोटीको गैराबजार नजिक गाडी दुर्घटना हुँदा महासचिव भट्ट घाईते भएका छन् ।

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची-महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा ११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो । महासचिव भट्टको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको  राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए । बुडर नजिकै जोरायल गाउँपालिका वडा नं १ गैरा भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो। दुर्घटनास्थल डोटी सदरमुकाम दिपायलबाट झण्डै ८० किलोमिटर टाढा पर्छ ।

गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा हुनुहुन्थ्यो । महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको बुझिएको छ । गाडी नालीमा खसेको छ। अहिले स्थानीय र प्रहरीले गाडी निकाल्ने प्रयास गरिरहेका छन् ।राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि कञ्चनपुर र बागलुङबाट एकैसाथ ‘मेची महाकाली अभियान’ सञ्चालन गरिरहेको छ । महासचिव भट्टको नेतृत्वमा रहेको पश्चिमको टोलीले महेन्द्रनगरबाट कार्यक्रम उद्घाटन गरी हिजो धनगढीमा विरोध सभा गरेको थियो । दिउँसो ३ बजे डोटीको दिपायलस्थित पिपल्ला बजारमा विरोध सभाको आयोजना गरिएको छ । सो सभामा महासचिव भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।