क्वारेन्टिनमा आत्महत्याः कात्रो किन्ने पैसा भएन श्रीमतीसँग
2020/07/02, 6:14
 
katro

२४ वर्षदेखि भारत बस्दै आएका बाजुराको बडीमालिका नगरपालिका–२ माँझीगाउँकी कलमती दमाईको ६ जनाको परिवार कोरोना कहरले नेपाल फर्कियो । कलमतिका विरामी श्रीमान सहित ६ जनाको परिवार जेठ २८ गते बाजुरा पुगेका थिए ।

उनको परिवार बाजुरा पुगे लगत्तै बडीमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा बसेका थिए । तर क्वारेन्टिनमा बसेको दुई दिनमै उनका श्रीमान भुपेन्द्र दमाईले आत्महत्या गरे । लामो समयदेखि दमका रोगी रहेका भुपेन्द्र आर्थिक अभावले गुज्रिरहेका थिए । भारतको दिल्लीमा बस्दै आएकी कलमतिले अरुको घरमा काम गरेर श्रीमानको उपचार र परिवार पालिरहेकी थिईन् । तर नेपाल आएपछि उनीमाथि ठुलै बज्रपात भएको छ । 

कलमतिका ४५ वर्षीय श्रीमानले जेठ ३० गते शुक्रबार साँझ क्वारेन्टिनमा आत्महत्या गरेका थिए । मृत्युपछि उनको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कलमतीको गाउँमा जग्गा–जमीन केही छैन् । घर समेत नभएकी उनीसँग श्रीमानको मृत्यु पश्चात क्रियादेखि सेतो कपडा किन्न समेत पैसा थिएन । उनले श्रीमानलाई आफैले बोकेर क्वारेन्टिन नजिकै गाडेकी थिइन । ‘श्रीमान मर्दा सेतो लुगा लगाउन पैसा थिएन । अन्य १३ दिनसम्म गर्नुपर्ने काजक्रिया त धेरै परको कुरो हो’ कलमतीले रुँदै भनिन, ‘श्रीमानको शव वेर्ने लुगादेखि धुप बाल्न समेत पैसा थिएन ।’ 

यति मात्रै होईन उनको समस्या त अब सुरु भएको छ । बिरामी श्रीमानको मृत्यपछि अब उनको परिवारमा ४ जना छोराछोरी छन । उनलाई परिवार कसरी पाल्ने भन्ने पिरलो छ । ‘अहिले वडा कार्यालयले दिएको ३० किलो चामलले छाक टारिरहेका छौं । घर छैन अरुको घरको गोठमा बस्दै आएका छौ’ उनले भनिन, ‘पहिले भारतमा काम पाएको थिए । यहाँ त काम पनि छैन । कसरी परिवार पाल्ने होला भन्ने चिन्ता लागेको छ ।’ आत्महत्या गर्नुपर्ने अन्य कुनै कारण नभएकाले आर्थिक अभावका कारण उपचार गर्न नसक्दा नै श्रीमानले त्यो निर्णय गरेकोे हुनसक्ने कलमतीको अनुमान छ । अहिले कलमतीको परिवार आरडीटी जाँच गरेपछि गाउँकै एक जनाको घरमा आश्रय लिईरहेकी थिईन् ।