बैतडीमा कको विषयलाई लिएर दुई अध्यक्षबिच कुटाकुट
2023/05/20, 2:40
 
ss

बैतडीमा दुई अध्यक्षबिच कुटाकुट भएको छ। बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीबिच विहीवार चेकको विषयलाई लिएर कुटाकुट भएको हो। उनीहरुबिच देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटाकुट भएको हो। कुटपिटबाट समितिका अध्यक्ष वीरेन्द्रसिहं धामी घाइते भएका छन्। कुटपिटबाट घाइते उनलाई बैतडी अस्पताल भर्ना गरिएको छ। समितिका अध्यक्ष वीरेन्द्रसिंहका अनुसार गाउँपालिकाले दिएको चेक साट्न बैंक जाँदा गाउँपालिका अध्यक्षले बैंकमा फोन गरेर चेक रोक्न आदेश दिएका थिए।

मंगलबार वडा नम्बर ४ मा रहेको स्थानीय कान्धार–देउलेक सडकमा उपभोक्ताले काम गरेबापत रु २० लाख ४४ हजार रकमको चेक दिएको थियो। सिगास गाउँपालिका–९ को देउलेकबाट सिगास–४ को वडा कार्यालय कान्धारसम्म गत वर्ष सडक खन्ने काम सुरु भएको थियो। उक्त चेक साट्न पालिका केन्द्र गर्जेबाट उपभोक्ता समितिका अध्यक्ष धामी बुधबार गाँजरीमा रहेको कृषि विकास बैंक पुगेपछि पालिकाले फिर्ता बोलाएको थियो। उक्त सडकमा पैसा थपेर अर्को चेक काटिदिने भन्दै फिर्ता बोलाएको घाइते धामीले बताए। अर्को दिन बिहीबार पालिका गएपछि कर्मचारीहरुसँग बिवाद भएको र त्यही बेला गाउँपालिकाका अध्यक्षले निहुँ खोज्दै लाठी, ढुङ्गामुडा, र लात्ताले कुटपिट गरेको समितिका अध्यक्षले बताए ।

यता गाउँपालिकाका अध्यक्षले भने आफूले कसैमाथि कुटपिट नगरेको र उल्टै गाउँपालिकाका कर्मचारी र आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका छन्। साथै स्काभेटरले काम गरेको किर्ते हस्ताक्षर गरेको समेत आरोप लगाएका छन्। गाउँपालिका अध्यक्ष धामीले भने उपभोक्ता समितिका अध्यक्ष वीरसिंहले मदिरा सेवन गरेर पालिका कर्मचारी र अध्यक्षसँग दुब्र्यवहार गरेको बताए । उपभोक्ता समिति अध्यक्ष धामीले किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको थाहा पाएपछि बैंकलाई चेक नसाट्न अनुरोध गरेको र कमिसन मागेको भन्ने झुटा आरोप लगाएको भन्दै उनले पालिकाको लेटरप्याड प्रयोग गरी विज्ञप्ती जारी गरेको बताए ।

यो वर्ष २७ सय मिटर सडक खन्न ३९ लाखमा सम्झौता भएको थियो। उपभोक्ता समितिका अध्यक्ष वीरसिंह धामीले भुक्तानीको चेक बुझेर लगिसकेको अवस्थामा उनले नै सडक निर्माण कार्यमा प्रयोग भएको स्काभेटरका चालक दिपेन्द्र अधिकारीको किर्ते हस्तार गरी तयार गरेको सम्झौता पेश गरी भुक्तानी लिएको जानकारी प्राप्त भएकाले कृषि विकास बैंक शाखा शिगासलाई पत्र लेखि सो चेक रोक्का गरिएको गाउँपालिकाले शुक्रवार विज्ञप्ती जारी गरेको विज्ञप्तिमा भनिएको छ।