क्वारेन्टिनबाट भागेका ५९ जनामध्ये ३३ जनामा कोरोना संक्रमण, सवै जना एकै वडाका रहेको खुलासा
2020/07/02, 7:49
 
korona

कैलालीको एक क्वारेन्टिनबाट भागेका ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  कोरोना परीक्षणका लागि स्वाब दिएको लामो समयसम्म पनि रिपोर्ट नआएको भन्दै क्वारेन्टिनबाट भागेका गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना पुष्टि भएको हो ।

भारतबाट आएकामध्ये आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । त्यसपछि उनीहरुको असार ४ गते स्वाब संकलन गरियो । तर स्वाब लिएको लामो समय भईसक्दा समेत रिपोर्ट नआएपछि ५९ जना क्वारेन्टिनबाट भागेका थिए ।

सुरुमा क्वारेन्टिनमा बसेका ७० जना मध्ये ४२ जनामा कोरोना देखिएकोमा भागेका ३३ जना पनि रहेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए ।

अब क्वारेन्टिनबाट घर गएकाहरूलाई घरमै सुरक्षित बस्न वा फेरि क्वारेन्टिनमा फर्किन सुझाव दिएको नगरपालिकाले जनाएको छ । साथै ती सबैको कन्ट्रयाक ट्रेसिङ समेत हुने नगरपालिकाले बताएको छ ।