सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले किनेका एम्बुलेन्सहरुका विषयमा किन्नेदेखि वाड्नेसम्म दुई दर्जन वढी त्रुटी नै त्रुटी भएका छन् । प्रदेशका विभिन्न १६ वटा निर्वाचनहरुमा वितरण गरिएका एम्बुलेन्स खरिदमा मिलोमतोदेखि करौडौं अनियमितता गरिएको आरोप लाग्दै आएको छ । तर एक गल्ती लुकाउँदा अर्को गल्ती उदांगो हुँदा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मन्त्री र कर्मचारीहरुले आफ्नै थोती फुस्किएको थाहा पाएको छैन् ।
खरिद प्रक्रियादेखि वितरणसम्म सधैं चर्चामै रहेको एम्बुलेन्स खरिद प्रकरण अहिले सार्वजनिक लेखा समितिले दुई दर्जन वढी गल्तीहरु गरिएको प्रमाण फेला पारेपछि सुदुरपश्चिमको राजनितिक फेरि गर्मराएको छ । प्रतिपक्ष र नेकपाकै फरक गुटका नेताहरु यसलाई राजनितिक वृतमा दरो रुपमा उचालिरहेका छन् भने सरकार र यसका पक्षधरहरुले पनि आफ्ना त्रुटी लुकाउन, मिलोमतो नभएको हुन्कार फुंक्न र अनियमितता नभएको भन्दै प्रकरणलाई अन्तै मोड्न शक्ती र सत्ताको आँडमा साम दाम दण्ड लगायत कुनै कसर बाँकी राखेका छैनन् ।
टेष्ट ड्राईभ र जाँच पासमा मिलोमतो
कुनै पनि क्षेत्रको लागि खरिद गरीएको गाडीको भुक्तानी दिन अगाडी सम्वन्धीत क्षेत्रमै गएर टेष्ट ड्राईभ गर्नुपर्ने प्रावधान रहेको छ । गाडीको रकम भुक्तानी गर्नुभन्दा पहिले ती गाडीमा रहेका सामान सम्झौता अनुसार भए नभएको र ती गाडी जुन क्षेत्रमा चलाउनु पर्ने हो, त्यहाँ चल्न सक्ने अवस्थाका भए नभएको जाँच गरिनुपर्ने नियम छ ।
मेकानिकल ईञ्जिनियरले जाँचपास गरेपछि मात्र सम्बन्धित मन्त्रालयले रकम भुक्तानी गर्नुपर्ने प्रावधान रहेकोमा सामाजिक विकास मन्त्रालयले भने भैरहवा भन्सारमा गाडी पुगेकै भरमा सिप्रदीलाई भुक्तानी दिएर मिलोमतो भएको कुरालाई थप बल पुराएको छ । साँझ ८ बजेसम्म भैरहवा भन्सारमा गाडी भएकोको अवस्थामा सोही दिन दिउँसो भने धनगढीको सिप्रदीमा गाडी देखाएर जाँच पास गरेको पाईएको छानविन उपसमितिले निष्कर्ष निकालेको छ ।