कैलाली र कञ्चनपुरमा गर्मीले बनाउन लाग्यो रेकर्ड
2023/06/09, 2:15
 
garmi

कञ्चनपुर र कैलालीमा गर्मीले रेकर्ड छुन थालेकोसँगै विद्यालयहरु बन्द हुने क्रम बढेको छ । कैलाली र कञ्चनपुरको तापक्रम लगातार एक साता ४० डिग्री नाघ्ने छ । यो यी दुई जिल्लाको लागि विरल घटना हो ।

आगामी बिहीबारबाट यी दुई जिल्लामा तापक्रम घट्ने भूउपग्रहमा आधारित मौसम पूर्वानुमान अनलाइन सेवा वेदर डटकमको प्रक्षेपण छ । आगामी साता बिहीबारबाट भने यी दुई जिल्लामा आंशिक वर्षाको सम्भावना रहेको छ ।आज शुक्रबार मध्यान्ह यी दुई जिल्लाको तापक्रम ४० डिग्री पुगेको छ भने शनिबारदेखि गर्मी झन् बढ्ने पूर्वानुमान छ ।

शनिबार कञ्चनपुरको तापक्रम ४१ र कैलालीको ४२ डिग्री पुग्ने छ भने आइतबार दुबै जिल्लाको तापक्रम४२ डिग्री सेन्टिग्रेड रहनेछ ।सोमबार यी जिल्लामा तापक्रम एक डिग्रीले घटेर ४१ डिग्रीमा झर्ने छ भने मंगलबार ४० डिग्री रहने छ । कैलालीमा बुधबार पनि तापक्रम ४० डिग्री रहने छ भने कञ्चनपुरमा ३९ डिग्री रहने छ ।

कञ्चनपुरमा बुधबार २० प्रतिशत भूभागमा पानी पर्नेछ भने कैलालीमा बिहीबार मात्रै २० प्रतिशत भूभागमा वर्षा हुने पूर्वानुमान अनलाइनले गरेको छ । बुधबारबाट सुरु हुने आंशिक वर्षा शुक्रबारसम्म जारी रहनेछ । सुदूरपश्चिममा यस वर्ष ढिलो गरेर १३ असारमा मात्रै मनसुन भित्रिने मौसम विज्ञान विभागको पूर्वानुमान छ ।