बझाङ दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त
2023/06/21, 3:26
 
ss

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था खतरामुक्त रहेको छ । दुर्घटनामा घाइते भएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताए ।

उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र उनीहरू बोल्न सक्ने अवस्थामा छन् । उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुवै जनाको पछाडिको भागको मेरुदण्डमा समस्या देखिएको डा। पोख्रेलले जानकारी दिए । जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ । उनीहरू दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनै पनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा पोख्रेलले बताए ।
 

उनले भने, “शल्यक्रिया यही पनि गर्न सकिन्छ तर परिवारका सदस्य नआइकन हामीले गर्न मिल्दैन । उहाँहरूको सल्लाहमा हामीले शल्यक्रिया गर्ने हो ।” जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका जिप चालक हुन् भने भण्डारी अङ्गरक्षक हुन् । उक्त गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलवार निधन भएको थियो ।

दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजू पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा मंगलवार बाटोमै मृत्यु भएको थियो । प्रदेश मन्त्री सिंह चढेको सु।प।प्र। ९१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा धारछडस्थित सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।