कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीको आक्रमण, मोबाइल र भारतीय रुपैयाँ बरामद
2023/06/24, 3:08
 
कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीको आक्रमण, मोबाइल र भारतीय रुपैयाँ बरामद

धनगढी - कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन्। शुक्रबार दिउँसो जिल्ला कारागार कैलालीमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरका हुन्।

कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्तमाथि कैदीबन्दीहरुले आक्रमण गरेर टाउको फुटाइ दिएका छन् । हुलमा रहेका एक कैदीले आक्रमण गरेका थिए । घाइते भएका उनको टाउकोमा चोट लागेको कैलाली कारागार स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन गरेर निस्किने क्रममा सामान्य धकेलाधकेल भएको बताउँदै सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको बताए । घाइते भएका उनको टाउकोमा टाँका लगाइएको र अहिले आराम गरिरहेको बताइएको छ। प्रहरी निरीक्षक साउँदकाअनुसार अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका विभिन्न कम्पनीका १५ थान मोबाइल, ३३ थान चार्जर र १ लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएका छन्।

बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ । तर जेलर पदमराज तिमिल्सिनाले अनुगमन अलिअलि भएको भन्दै सबै कुरा अनुसन्धानकै क्रममा रहेको र त्यसपछि मात्रै भन्न सकिने उनले बताए । कैलाली कारागार भित्रै मदिरा सेवन गरेर कुटाकुटका घटना र मदिरा तथा लागुऔषधको खुलेआम कारोबारको गुनासो बढ्दो रहेको गुनासो गरिएको छ। केही समयअघि मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप भएको कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो।