सुदूरपश्चिममा तीन हजार वढी संक्रमित पुग्दा ११२ जना मात्रै अस्पतालमा
2020/07/03, 9:54
 
korona

सुदूरपश्चिम प्रदेशका एक सय १२ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झण्डै दुई हजार संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४५, महाकाली अस्पतालमा २१, मालाखेती अस्पतालमा २०, सेती अस्पतालमा १२, अछाम अस्पतालमा १०, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा सात जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ४६ पुगेको छ । यस्तै सुदूरपश्चिमका विभिन्न अस्पताल र क्वारेन्टिनबाट पाँच सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बिहीवार साँझ पाँच सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार बिहीवार मात्रै ७० जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ । डोटीबाट ३० जना, बझाङबाट २० जना, अछामबाट १६ जना र सेती प्रादेशिक अस्पतालबाट चार जनालाई डिस्चार्ज गरिएको उनले बताए । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका एक सय ५७, डडेल्धुराका एक सय ३७, कञ्चनपुरका ९७ र कैलालीका ८० जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

अछामबाट ४२, बझाङबाट २४, दार्चुलाबाट १३, बैतडीबाट ९ र  बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।