धनगढीमा चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती
2023/06/28, 2:22
 
धनगढीमा चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

धनगढी - गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का गगन भण्डारीले बताए ।

‘बारम्बार विद्युत् जान्छ, कतिवेला पावर नपुगेर पंंखा चल्दैन,’ भण्डारीले भने, ‘गर्मीमा बस्नै समस्या छ ।’ उद्योग, कलकारखानामा पनि यसको प्रभाव परेको छ । पावर नपुग्ने र वेलावेला बत्ती जाने समस्याले उत्पादन प्रभावित भएको उद्योगीहरूको गुनासो छ । पटक–पटक विद्युत् अवरुद्ध हुँदा विद्यार्थी मारमा परेका नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनीष कुँवरले बताए ।

विद्युत् नियमित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले गत ४ असारमा नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका निमित्त प्रमुख मोहन जोशीले लोडसेडिङ नभएको, तर अन्य प्राविधिक कारणले विद्युत् अनियमित हुने गरेको बताए । गर्मीको सिजनमा विद्युत् बढी खपत हुने भएकाले ‘ओभरलोड’ हुँदा सिस्टम जाने, वर्षा र हावाहुरीले पोल ढल्ने, तारहरू जुध्ने, तारमा रूख र हाँगाहरू खस्नेजस्ता कारणले विद्युत् आपूर्तिमा समय–समयमा समस्या देखिने गरेको उनले बताए।

यता केन्द्रको नेपाल विद्युत प्राधिकरणले नेपालको राष्ट्रिय प्रसारण लाइनको क्षमता १३२ केभी मात्रै रहेका कारण मागभन्दा कम विद्युत भार बहन गर्ने बताएको छ। १३२ केभीको सिङ्गल सर्किट प्रसारण लाइनमा बढीमा एक सय मेगावाट र डबल सर्किट प्रसारण लाइनमा दुई सय मेगावाट बिजुली मात्रै प्रवाह गर्न सकिने बताएको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमा बढीमा ५ सय मेगावाट र डबल सर्किट प्रसारण लाइनमा एक हजार मेघावट बिजुली प्रवाह गर्न सकिने तर, गर्मीमा बिजुलीको माग बढ्ने बित्तिकै लाइन जाने समस्या आउने गरेको विद्युत प्राधिकरणले जनाएको छ।४०० केभी सिङ्गल सर्किट प्रसारण लाइनमा बढीमा २ हजार मेगावाट र डबल सर्किट प्रसारण लाइनमा ४ हजार मेगावाट बिजुली प्रवाह गर्न सकिन्छ। तर, अहिले १३२ केभीको सिङ्गल प्रसारण लाइन मात्रै हुँदा लोड धान्न नसक्दा बिजुली जाने गरेको बताइएको छ।