कैलालीमा बलात्कार गरिएकी ११ वर्षीया बालिका विचल्लीमा हुँदा पनि उनको विषयमा कसैले पनि नवोलेको आरोप लागेको छ । कैलारी गाउँपालिका वडा नम्बर २ की बलात्कारमा परेकी बालिकाको अवस्था नाजुक हुँदा पनि कैलालीका महिला अधिकारकर्मी र मानव अधिकारकर्मीहरु मौसन बसेका हुन् । बलात्कार भएको २० दिन हुँदा पनि आर्थिक अभावले उपचार गर्न र घरमा खानको समस्या भएको पिडितका बुबाले बताएका छन् ।
बलात्कार भएपछि लगातार रक्तश्राव भएपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याईएपछि बलात्कार भएको घटना सार्वजनिक भएको थियो । सेतीमा सामान्य उपचारपछि बालिकालाई घर पठाईएकोमा उनलाई सामान्य सन्चो भएको छ । ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक वर्षीय दिपेन्द्र चौधरीलाई पक्राउ गरेर म्याद थप गरेर अनुसन्धान भईरहेको छ ।
३२ जेठमा बालिकाको बलात्कार भएको थियो । बालिकालाई कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका कारण उनले कसैलाई पनि भनेकी थिएनन् । तर रक्तश्राव नरोकिएपछि उपचार गर्नका लागि सेतीमा ल्याएप्छि बलात्कार भएको सार्वजनिक भएको थियो । घटनालाई मिलाउनका लागि राजनीतिक दबाबका कारण घटना गाउँमै मिलाउने प्रयास भएको थियो । “प्रहरी अथवा बाहिर घटना सार्वजनिक नगर्नु बरु पैसा कति चाहिन्छ हामी दिन्छौ, यदि प्रहरीलाई भनेको खण्डमा राम्रो हुने छैन भनी धम्की आएको पिडीत वालिकाका परिवारको दुःख छ ।
पिडित वालिकाको परिवारलाई घरमा खानाका लागि समस्या भएपछि उनलाई आवश्यक खाद्यान्न खबरकुञ्ज डटकमले दिएको छ । चामल लगायतका खाद्य सामाग्रीहरु खबरकुञ्जले सहयोग गरेको मुख्य प्रवन्धक प्रदीप पाठकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जानकारी दिए ।