सुदूरपश्चिममा उन्मुक्तिले दोहोर्‍यायो पूर्वसहमतिअनुसार मन्त्रालय पाउनुपर्ने माग
2023/07/01, 2:57
 
सुदूरपश्चिममा उन्मुक्तिले दोहोर्‍यायो पूर्वसहमतिअनुसार मन्त्रालय पाउनुपर्ने माग

धनगढी - नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरुले सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतिअनुसार मन्त्रालय दिन माग गरेका छन्। सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले पुनः सोही माग अघि बढाएको हो ।

उनीहरुले सुदूरपश्चिम प्रदेशको नेतृत्वमाथि माग र दबाब दिन गति अघि बढाएका छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

उन्मुक्ति पार्टीले कांग्रेस र माओ‌वादीसँग भूमि व्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालय पाउने सहमति भएको भन्दै सोहीअनुसार भागबण्डा मिलाउन माग गरेको हो । तर सामाजिक बिकास मन्त्रीमा झपट बहादुर साउँद नियुक्त भैसकेका छन् । कांग्रेसबाट बझाङ–१ का सांसद पृथ्वीबहादुर सिंहको भने हालै निधन भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रीको सीट खाली छ । प्रदेश सरकार गठनका बेला भागबण्डामा उन्मुक्तिलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परेको थियो । उसले दुई वटा मन्त्री र एउटा राज्यमन्त्री नपाएसम्म सरकारमा नजाने अडान लिएको छ ।

उन्मुक्ति पार्टीलाई दुईवटा मन्त्रालय दिन अहिले भइरहेका एक मन्त्रीलाई राजीनामा गराउनुपर्ने हुन्छ। सत्तारुढ कांग्रेस, माओवादी र एकीकृत समाजवादी मन्त्रालय छोड्न तत्काल तयार देखिएका छैनन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले बजेट पास भएपछि सरकार विस्तारका बारेमा निर्णय लिने बताएको छ। ५३ सदस्यीय प्रदेशसभामा सरकारको पक्षमा बहुमत कायमै राख्न २७ सदस्यको समर्थन चाहिन्छ ।यस्तै नागरिक उन्मुक्ति पार्टीका प्रदेश सचेतक कैलाश चौधरीले पूर्वसहमतिअनुसार मन्त्रालय पाउनुपर्ने बताए।

जसका लागी उनले पुन एक पटक सत्ता गठबन्धनमा रहेका दलहरुसँग र केन्द्रीय तहमा कुरा गर्ने तयारी भैरहेको बताए। सुदुरपश्चिममा बजेट बिनियोजन भएपछि बैठकमा छलफल भएको छैन् उनले भने । अब छिट्टै छलफल हुने उनले बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली छ यस्मा दाबी होला भन्ने कुरामा उनले त्यस्तो दाबी नरहने तर पुर्वसहमती अनुसार २ मन्त्रालय र एक राज्यमन्त्री दिनुपर्ने धारणा राखे । यस्तै उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले आफ्नो पार्टी तेस्रो ठूलो दल भएकाले हैसियत अनुसार मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएका छन्। गत माघ २६ गते काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए पनि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन्।सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी सहभागी छन् । कांग्रेसका १९, माओवादीका ११, उन्मुक्तिका सात र एकीकृत समाजवादीका चार जना प्रदेशसभा सदस्य छन्।