डोटीमा प्रस्तावित इन्जिनियरिङ कलेजले मान्यता पायो
सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सुरु गर्ने तयारी
2023/07/04, 1:45
 
डोटीमा प्रस्तावित इन्जिनियरिङ कलेजले मान्यता पायो

डोटी - दुई वर्ष अघि प्रस्तावित इन्जिनियरिङ कलेजले अन्तः डोटीमा मान्यता प्राप्त गरेको छ । प्रस्तावित खप्तड क्याम्पसले मान्यता पाएसँगै दिपायल सिलगढी नगरपालिकाको वडा नं. ६ थाप्लामा भौतिक संरचना निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । गत असार १२ गते त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानबाट आंगिक क्याम्पसका रुपमा मान्यता पाएको हो ।

सोमबार परियोजना संयोजकको कार्यालय समेत स्थापना गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले सोमबार कार्यालयको उद्घाटन गरेका हुन् । परियोजना संयोजक रामप्रसाद पौडेलले क्याम्पस स्थापनाका लागि आवश्यक सम्पूर्ण डकुमेन्टेसनको काम सकेर भौतिक संरचना निर्माण कार्य अघि बढाउन लागिएको बताए । क्याम्पसले थाप्लामा एक सय २५ रोपनी जमिन प्राप्ति गरिसकेको छ । बर्खा सकिने बितिक्कै भौतिक संरचनाको काम अघि बढाइने परियोजना संयोजक पौडेलको भनाइ छ । उनका अनुसार भौतिक संरचना र दरबन्दी सृजना भएमा यथाशीघ्र पढाइ सुरु हुनेछ ।

भौतिक संरचना निर्माणका लागि साढे ४ करोड बजेट समेत दुई वर्षअघि नै संघीय सरकारले बिनियोजन गरिसकेको छ । स्नातकतहसम्मको अध्ययन हुने यो क्याम्पसमा विभिन्न १२ वटा कार्यक्रम सञ्चालन गर्न सकिने लक्ष्य भएपनि हाललाई सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सुरु गर्ने तयारी सरकारको छ ।

काठमाडौं स्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक पौडेल यस अघि पोखरा र धरान इन्जिनियरिङ क्याम्पस प्रमुख भइ काम गरिसकेका अनुभवी प्राध्यापक हुन् । हाल सरकारले उनलाई दाङको इन्जिनियरिङ कलेज र डोटी सिलगढीको खप्तड क्याम्पस विस्तारका लागि परियोजना संयोजकको जिम्मेवारी दिएर खटाएको छ । पौडेलले क्याम्पस स्थापना पछि सुदूरपश्चिममा प्राविधीक जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे । स्थानीयको सकृयता र राजनैतिक दलहरूको भूमिका रह्यो भने चाँडै नै पढाइ सुरु हुने पौडेलको भनाइ छ ।

दिपायल सिलगढी नगरपालिका प्रमुख विजय खड्काको संयोजकत्वमा ५ सदस्यीय परियोजना सहजीकरण समिति गठन भइसकेको छ । सो समितिले आवश्यक निर्णय गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको नगरप्रमुख खड्काले बताए । उनले इन्जिनियरिङ कलेजको स्थापनाले डोटीलाई शैक्षिक हबका रुपमा रूपान्तरण गर्न सहयोग पुग्ने हुँदा नगरपालिका जुनसुकै सहयोगका लागि तयार रहेको प्रतिवद्धता गरे । उनले आगामी आर्थिक वर्षका लागि पनि बजेट बिनियोजन गरिने बताए । नगरपालिकाले क्याम्पसको जमिनसम्म विद्युत, सडक, पानी जस्ता आधारभूत पूर्वाधारका लागि सहयोग गरिरहेको परियोजना संयोजक पौडेलको भनाइ छ ।