आफ्नै अर्थमन्त्रीले ल्याएको बजेट बिरुद्ध उत्रियो समाजवादी
2023/07/11, 3:19
 
dd

सुदूरपश्चिम प्रदेशको बजेटप्रती सत्ता सम्हालेकै दल असन्तुस्ट छन् । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका थिए । असार मसान्तभित्र बजेट पास भइसक्नुपर्ने प्रावधान अनुसार बजेट प्रस्तुत लगत्तै छलफल शुरु हुनुपर्ने भएपनि असारको अन्तिममा पुग्दा समेत छलफल शुरु भएको छैन । नेकपा एकिकृत समाजवादी पार्टी प्रदेशसभामा प्रमुख सचेतक समेत आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले ल्याएको बजेट बिरुद्ध सशक्त रुपमा नेकपा एकिकृत समाजवादीनै उभिएको छ । एकिकृत समाजवादीकै नेतृत्वमा सोमबार सत्तारुढ ३ दलले बजेट पास नगर्ने निर्णय समेत गरिसकेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने सामूहिक निर्णय नै गरेका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हस्ताक्षर रहेको निर्णयमा भनिएको छ– ‘जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ । उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभूति भएको छ ।’
उनीहरुले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन्। भनिएको छ– ‘जनता र जनताका जनप्रतिनिधिको भावना समेटेर प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन बजेट संशोधनको प्रक्रिया अगाडि बढ्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दछौं ।’ उनीहरुले बजेट संशोधन र समझदारी नभएकोले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताएका छन् ।

नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता दीर्घ बहादूर सोडारीले प्रदेश सरकारको बजेट प्रती ब्यापक अशन्तुस्टी जनाएका छन् । सरकारको बजेट प्रति अशन्तुस्टी स्वरुप ब्यङ्ग्य गर्दै पुर्व मन्त्री समेत रहेका नेता सोडारीले कोशीमा बाढी आएपनि यहाँका पुल र सडक बगाएको बताए । सोडारीले भने “मेरा त ठेक्का लगाएका पुलनै कति उडे थाहा छैन, बाढी उता एक नम्बर कोशी प्रदेशमा आयो पुल हाम्रा बगेर गए, सडक भत्केर गए ।” हामी ऐतिहासिक प्रदेशमा छौँ उनले भने “सबै प्रदेशमा बजेट सानो आयो सुदूरपश्चिमको बजेटपनि सानो आएको छ, सानो बजेटले धेरै ठाउँमा नपुग्यो होला, मिलाउँदै होलान मन्त्री ज्यु हरुले ।”

अब सरकारले के कसरी अगाडी बढ्छ गर्ला उनले भने “सत्तारुढ राजनितिक दलका नेताहरुलाई समेधपुछ गरे हामी सुझाव दिउँला, अस्ती बजेट बनाउँदा यसो यसो गरौँ भनेर सल्लाह दियौँ तर आफ्नो मनलाग्दी गरे, अबपनि आफ्नै काम गर्छन की मिलाउँछन् भकुन्डो, गोल सरकारतिर छ हामी तिर छैन ।” असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०÷०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुतपछि त्यसमाथी प्रदेशसभामा छलफल शुरु हुनुपर्ने हो, असार अन्तिमतिर पुग्दासम्म बजेटमाथीको छलफल शुरु हुन सकेको छैन ।