कोभिड–१९ रोकथामका लागि बैतडीमा निर्माण गरिएका क्वरेन्टिनहरु रित्तिदै गएका छन् । भारतबाट घर फर्किनेहरुको सङ्ख्या घट्दै गएसँगै सम्भावित सङ्क्रमित राखिने क्वरेन्टिनहरु रित्तिंदै गएका हुन् । जिल्लाभर २५० स्थानमा गरी ६ हजार ९ सय ८९ जनासम्म अटाउने गरी निर्माण गरिएका क्वरेण्टीन रित्तिदै गएका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवनप्रसाद जोशीले बताए ।
जिल्लाका १० वटै पालिकामा गरेर अहिले ७०६ जना मात्रै क्वरेण्टीनमा बसिरहेका छन् । सिगास गाउँपालिकामा सबैभन्दा बढी १७६ जना क्वरेण्टीनमा बसेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा १११, पुर्चौडी नगरपालिका र दशरथचन्द नगरपालिकामा ७४र७४, पाटन नगरपालिकामा ७३, मेलौली नगरपालिकामा ५८, डिलाशैनी गाउँपालिकामा ५२, शिवनाथ गाउँपालिकामा ४५, दोगडाकेदार गाउँपालिकामा ३१ र सुर्नया गाउँपालिकामा १२ जना क्वरेण्टीनमा बसिरहेका छन् ।
आरडीटी पोजेटिभ देखाएका र भारतबाट फर्किएर १४ दिन पूरा नभएकाहरु क्वरेण्टीनमा बसिरहेका छन् । तर पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या घट्दै गएपछि क्वरेण्टीनमा बस्नेहरुको सङ्ख्या पनि घटेको हो । बैतडीमा अहिलेसम्म २३७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्लाका सबै पालिकामा कोरोना सङ्क्रमण फैलिएको हो ।