कैलाली र कञ्चनपुरमा जन्मसिद्ध नागरिकका सन्तानले धमाधम नागरिकता लिँदै
2023/07/14, 1:18
 
dd

कैलाली र कञ्चनपुरमा जन्मसिद्ध नागरिकका सन्तानले धमाधम नागरिकता लिन थालेका छन् । गत १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकका आधारमा अहिलेसम्म कैलाली र कञ्चनपुरमा नागरिकता लिनेको संख्या १०९ पुगेको छ ।

जन्मसिद्ध र जन्मका आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने बाटो खुलेपछि कैलालीमा ६९ र कञ्चनपुरमा ४० जनाले नागरिकता पाएका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार २०६३ देखि २०७२ सालसम्म कैलालीमा जन्मसिद्ध र जन्मको आधारमा नागरिकता पाएका २ सय १ नागरिकका सन्तानमध्ये महिला २० र पुरुष ४९ ले नागरिकता पाएका छन् ।

कैलालीको टीकापुर इलाका प्रशासन कार्यालयबाट महिला ५ र पुरुष २४, सुखड इलाका प्रशासन कार्यालयबाट महिला २ तथा जिल्ला प्रशासन कार्यालय धनगढीबाट १३ महिला र २५ पुरुषले नागरिकता पाएको सूचना अधिकारी जोशीले बताए । त्यस्तै, जन्मको आधार र जन्मसिद्ध नागरिकता पाउने कञ्चनपुरका ८ सय नागरिकका ४० सन्तानले अहिलेसम्म नागरिकता लिइसकेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जन्मसिद्ध नागरिकका सन्तानले धमाधम नागरिकता लिइरहेको बताएका छन् ।