कैलालीमा ४ बर्ष सम्म सडक नबनेपछि भौतिक पुर्वाधार कार्यालयलाई ज्ञापनपत्र
2023/07/18, 1:41
 
ss

कैलालीमा ४ बर्ष सम्म सडक नबनेपछि भौतिक पुर्वाधार विकास कार्यालयमा ज्ञापनपत्र वुझाइएको छ। कैलालीको चौकीडाँडा फल्टुडे सडक अन्तरगत कृष्णमन्दिर बान्द्रेखाल सडक सम्झौता भएको ४ बर्षमा पनि निर्माण नभएपछि गोदावरीका ४ वडाअध्यक्षले भौतिक पुर्वाधार विकास कार्यालय धनगढीमा ज्ञापन पत्र बुझाएका छन ।

चौकिडाँडा कोलमुडा सडक संघर्ष समितिको निर्णय अनुसार सोमबार वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षले भौतिक पुर्वाधार विकास कार्यालय धनगढीमा ज्ञापन पत्र बुझाएका हुन । वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थी, १० का कार्यवाहक वडाध्यक्ष शेर बहादुर तामाङ, वडा नम्बर ११ का वडाध्यक्ष प्रेम सिह बडैला र वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काको हस्ताक्षर रहेका ज्ञापन पत्रमा ठेकेदार र कार्यालयको लापरवाहिका कारण जनताले दुःख पाएको उल्लेख गरिएको छ ।

४ बर्ष वितिसक्दा पनि प्रदेशको गौरवको योजनामा हालसम्म पनि नाली निर्माणकै काम पुरा हुन नसक्दा यातायातका साधन संचालनमा कठिनाई भएको वडा नम्बर १२ द्धारा भौतिक पुर्वाधार विकास कार्यालयलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । गोदावरीका ३,१०, ११ र १२ जोड्ने मुख्य सडकको बाकी काम यथासिघ्र सम्पन्न गर्न ज्ञापन पत्र र सिफारिस पत्र मार्फत आग्रह गरिएको छ ।

प्रदेशको गौरवको योजना अन्तरगत अढाइ किलोमिटर सडक भौतिक पुर्वाधार विकास कार्यालय धनगढीले कृष्णमन्दिर देखि गोदावरी १० को वडा कार्यालय सम्म निर्माणको लागि २०७७ भदौं १८ गते एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि संग ठेक्का सम्झौता गरको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिनु पर्ने भएपनि हालसम्म पनि उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन । हाल उक्त सडकको म्यादा २०८० असार मसान्त सम्म तोकिएको भएपनि सो समय समेत सकिएको छ । सडक निर्माणका लागि एड्भेन्चर, गेगिङ, सन्लाईट जेभि संंग ५ करोड ८४ लाख ठेक्का सम्झौता भएको थियो ।

उक्त काम नसकिदै चौकीडाँडा फल्टुडे सडक अन्तरगत थप ३ किलोमिटर वडा कार्यालयदेखि बान्द्रेखाल सम्म निर्माणका लाग ठेक्का सम्झौता भएपनि सो काम पनि सुरु हुन सकेको छैन । उक्त सडक निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा संग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सडक निर्माणको काम १८ महिना तोकिएको छ ।लामो समयको चर्चा र प्रतिक्षा पछि चौकीडाँडा फल्टुडे सडकको काम क्रमागत योजना अन्तरगत अगाडी बढेको भएपनि हाल ठेकेदारको लापरवाहीका कारण सडकको काम समयमा नसकिदा स्थानीय आक्रोसित भएका छन ।

हाल ठेक्का सझौता भएको सडक निर्माण भएमा ओलानी क्षेत्रको यात्रा गर्न सहज हुने भएपनि सडक निर्माणमा लापरवाही गरिएको भन्दै अहिले स्थानीयले चौकिडाँडा कोलमुडा सडक संघर्ष समिति गठन गरी दवावका कार्यक्रम गरिरहेका छन। संघर्ष समितिका संयोजक रमेश ताम्राकारले ओलानीको यातायात जोड्ने मुख्य सडक निर्माणमा ढिलाई भएपछि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम संचालन गरिरहेको बताए । उनले संघर्षकै कार्यक्रम अन्तरगत सोमबार वडा कार्यालयबाट ज्ञापन पत्र र सिफरिस पत्र लिएर भौतिक पुर्वाधार विकास कार्यालय धनगढीमा बुझाइएको बताए। ज्ञापत्र पत्र भौतिक पुर्वाधार विकास कार्यालय धनगढीका प्रमुख राम चन्द्र खत्रीलाई बुझाएका थिए ।