‘महुवा’ जोगाउन किन कस्सिए थारू समुदाय ?
2023/07/18, 1:49
 
dd

पछिल्लो समय आदिवासी थारू समुदाय महुवाको वृक्षारोपणमा जुटेको छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवा लोप हुँदै गएपछि संरक्षण तथा प्रवर्द्धन गर्न यसको वृक्षारोपणमा जुटेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका–१० स्थित नुक्लीपुर सामुदायिक होमस्टेले त्यहाँस्थित लक्ष्मी सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा २ हजार बोट महुवा वृक्षारोपण गरेको छ । यो सँगै असना, कर्मालगायत रुखको बिरुवा समेत रोपेको होमस्टेका अध्यक्ष दिनेश दहितले जनाए ।

उदासीपुर सवडिभिजन वन कार्यालयको प्राविधिक र डिभिजन वन कार्यालय धनगढीको आर्थिक सहयोगमा पहिलो चरणमा वृक्षारोपण सम्पन्न गरेको बताउँदै अध्यक्ष दहितले दोस्रो चरणको लागि महुवाको १० हजार बोटको नर्सरी तयार भइरहेको र अन्य पालिकास्थित सामुदायिक वनमा पनि वृक्षारोपण गर्ने योजना रहेको सुनाए ।

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन समन्वय समिति मसुरियाको प्राविधिक सहयोगमा पनि महुवा वृक्षारोपण गरिएको छ । धनगढी उपमहागरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले पनि केही वर्ष अगाडि भादास्थित रामेश्वर धार्मिक वनको करिब ५ विघा क्षेत्रफलमा २ हजार महुवाको बिरुवा रोपिएको बताए । 

पछिल्लो समय स्थानीय पालिकाहरु महुवा प्रवर्द्धन कार्यक्रमसमेत गर्न थालेका छन् । यसमा खास गरी थारू किसानहरूको आकर्षण बढ्दै गएको छ । 

के हो महुवाको विशेषता ?

महुवा प्रायः तराईको वनमा पाइन्छ, जुन वसन्त ऋतुमा फुल्छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवाको बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्छन् । सो फुल संकलन गरेर प्रशोधन गरी रक्सी बनाउने कार्यमा थारू समुदाय उहिल्यैदेखि पारङ्गत छ ।

महुवालाई शक्तिवर्द्धक जडीबुटीको रूपमा लिइन्छ । डिभिजन वन कार्यालय कैलालीका पूर्व वन अधिकृत रामचन्द्र कँडेलका अनुसार महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो, जसको फूल र फलमा औषधीय गुण रहेको हुन्छ ।

महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको बताइन्छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले भने, ‘खास गरी थारू समुदायमा महुवाको विशेष महत्त्व रहेको छ । जस कारण वनमा भए पनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।’ 

थारू समुदायमा महुवाको रक्सी अन्य रक्सीभन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि महुवाको रक्सी थारू गाउँमा अनिवार्य जस्तै हुन्छ ।

नुक्लीपुर सामूहिक होमस्टेका अध्यक्ष दहित भन्छन्, ‘पर्यावरण संरक्षण त छँदैछ । योसँग थारू समुदायमा महुवाको विशेष महत्त्व छ । हामी होम स्टेको प्रवद्र्धनको लागि पनि महुवा प्रवर्द्धनमा जुटेका हौ । यसको रक्सीलाई उच्च प्रविधिको प्रयोगसँगै ब्राण्डिङ गर्ने हाम्रो योजना हो । साथै, यसको काठको प्रयोग र फललाई प्रशोधन गरी निकालिएको तेललाई विभिन्न औषधीमा प्रयोग गरिने भएकोले यसको प्रवर्द्धनमा जुटेका छौ ।’  

थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूहरूले सञ्चालन गरेको होम स्टेमा महुवाको रक्सीको माग उच्च रहेको बताए । महुवाको रक्सी प्रति बोतल ९२५० मिलिलिटर० ४ सय रुपैयाँमा बिक्री हुँदै आएको अध्यक्ष चौधरीले बताए ।

स्मरण रहोस्, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकारले यस आर्थिक वर्षमा महुवालगायत रक्सीको ब्राण्डिङको लागि १२ करोड रकम विनियोजन गरेको छ ।