सुदूरपश्चिममा २४९ सवारी दुर्घटना, राजस्व संकलन बढ्यो
2023/07/21, 11:01
 
ss

सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक बर्षको तुलनामा सवारी दुर्घटनामा कमी आएको छ । प्रदेशमा आर्थिक बर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा सवारी दुर्घटनामा आधाले कमी आएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीका अनुसार गत आर्थिक बर्ष २०७९/०८० मा २४९ वटा सवारी दुर्घटना भएका छन । जवकी २०७८/०७९ मा ५०१ सवारी दुर्घटना भएका थिए । त्यस्तै आर्थीक बर्ष २०७७/७८ मा ५ सय ५८ सवारी दुर्घटनामा परेका थिए ।

गत आर्थिक बर्षमा सवारी दुर्घटनामा कमि आए संगै दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा पनि कमि आएको छ । २०७९/०८० मा २ सय ४९ सवारी दुर्घटनामा परेर १७७ जनाको मृत्यु भएको छ भने ४६३ घाइते भएका छन । २०७८/०७९ मा भएका सवारी दुर्घटनामा १ सय ९६ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ५५८ सवारी दुर्घटनामा १ सय ८६ जनाको मृत्यु भएको थियो । प्रहरी उपरीक्षक गिरीले गत आर्थिक बर्षमा सवारी दुर्घटनामा कमि आउनुको कारण सचेतनाका कार्यक्रम बृद्धि हुनु, सडकको स्तर सुधार हुन लगायतका कारण रहेको बताए ।

‘दुर्घटना घट्नुको पछाडी पहिलो कारण भाग्यले पनि साथ दिएको हुनसक्छ’ उनले भने ‘अहिले भौतिक पुर्वाधारमा पनि सुधार हुँदै जाँदा पनि दुर्घटनामा कमि आएको हुन सक्छ । पहिले जहाँ कच्चि सडक थिए । त्यहाँ अहिले पक्कि सडक निर्माण भएका छन ।’ उनले पछिल्लो समय ट्राफिक सचेतनामा कार्यक्रम पनि बढी भएकाले दुर्घटनामा कमी आएको हुन सक्ने बताए ।

उनले भने ‘आर्थिक बर्ष २०७८/०७९ मा १ हजार वटा मात्रै ट्राफिका सचेतनामा कार्यक्रम संचालिन भएका थिए भने गत आर्थिक बर्षमा ४ हजार बढी सचेतनाका कार्यक्रम संचालन भएका छन ।’ उनले दुर्घटनालाई अझै न्यूनिकरण गर्नको लागि सवारी चालक सचेत हुनुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने, राज्यले पनि हालका बाटोहरुलाई चौडा गराउनु पर्ने, घुम्तिहरुमा कटिङ गरिनुपर्ने, मार्किङ गरिनुपर्ने, सडकको स्तर विकास गरिनुपर्ने बताए ।

राजश्व संकलनमा वृद्धि
प्रदेशमा सवारी दुर्घटनामा कमी आउँदा राजश्व संकलनमा भने वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा सवारी कारवाहीबाट ६ करोड ४२ लाख १२ हजार राजस्व संकलन भएको छ । आर्थीक बर्ष २०७८/०७९ मा ५ करोड ४१ लाख ९४ हजार राजस्व संकलन भएको थियो। जुन आर्थीक बर्ष २०७८/०७९ को तुलनामा १ करोड १८ हजारले बढी हो । आर्थिक बर्ष २०७७/७८ मा ४ करोड ५७ लाख ६७ हजार राजस्व संकलन भएको थियो । ३ बर्षको तथ्याङ्क हेर्दा प्रदेशमा राजस्व संकलन बढ्दै गएको देखिन्छ ।प्रदेशमा सवारी दुर्घटनामा कमी आएर राजश्व संकलन बढेको भएपनि ट्राफिक प्रहरीको दरबन्दी र स्रोत साधनको भने अभाव रहेको छ । हाल प्रदेशमा बर्षौ पहिले निर्धारण गरेको ट्राफिक दरबन्दी बढ्न सकेको छैन ।

प्रहरी उपरीक्षक गिरीले सुदूरपश्चिममा हाल १८८ जनाको मात्रै दरबन्दी रहेको बताए । त्यो एकदमै कम भएकाले हाल बिभिन्न ठाउँबाट व्यवस्थापन गरेर २६३ ट्राफिक प्रहरी कार्यरत रहेको बताए । हाल प्रदेशभरीका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक एकाइ रहेका छन ।प्रहरी उपरीक्षक गिरीले ट्राफिक प्रहरी प्रविधिमा पनि कमजोर रहेको बताए । उनले अहिले प्रविधिका उपकरण खरिदका लागि बजेट विनियोजन नहुने भएकाले स्थानीय निकाय संग समन्वय गरेर खरिद गर्नुपरेको बताए । स्पीड गन, मापसे चेकिङ गर्ने मेसिन लगायतका सामाग्रिको हाल प्रदेशमा अभाव रहेको उनले बताए । उनले भने ‘स्थानीय निकास संग समन्वय गरेर अहिले सम्म जसोतसो चलेको छ ।’