धनगढीमा स्वास्थ्यकर्मीको हाजिरी रोक्दा खोप कार्यक्रम प्रभावित
2023/07/21, 11:07
 
ss

धनगढी उपमहानगरपालिकाले साउन महिनामा सञ्चालन गर्ने नियमित खोप अभियानको नयाँ तालिका तयारी गरेको छ । वडामा जनशक्ति अभाव भएपछि हरेक वडामा एकै साथ अभियान सञ्चालन गर्ने नसक्ने भन्दै नयाँ तालिका तयार गरेको हो । खोपबाट कुनै पनि बालबालिका नछुट्नु भन्ने लक्ष्यसहित धनगढीले एक पटक सबै वडामा खोप अभियान सञ्चालन गर्दै आएको थियो । तर, यस महिना जनशक्ति अभाव हुँदा केही वडामा ढिला गरि खोप अभियान सञ्चालन गरिन लागेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।

उपमहानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार २, ३, १७ र १९ नम्बर वडामा ढिला खोप कार्यक्रम सञ्चालन हुने उनले बताए । धनगढी उपमहानगरपालिकाले आजदेखि बाँकी वडामा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै छ । उपमहानगरपालिकाले केही वडामा ५ देखि त केही वडामा भोली ९६ गते० तथा केही वडामा ९ र १० गते खोप कार्यक्रम गर्न लागेको उनको भनाई छ ।

महाशाखा प्रमुख अवस्थी भन्छन् –‘सबैलाई खोपको पहुँचमा ल्याउन सबै वडामा एक पटक अभियान सञ्चालन गर्नुपर्ने थियो । तर, जनशक्ति व्यवस्थापनमा समस्या भएकाले केही वडामा ढिला सञ्चालन गरिन लागेको हो । यसले केही बालबालिका खोपको पहुँचबाट वञ्चित हुने देखिन्छ ।’ उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भइ कार्यरत स्वास्थ्यकर्मीहरुको हाजिरी रोक्दा यो समस्या उत्पन्न भएको उनी बताउँछन् । ‘त्यसै त यहाँ स्वास्थ्यकर्मीहरु अपुग थियो । त्यसैमा थप स्थायी कर्मचारीको हाजिरी रोकेर समस्या सृजना भएको छ ।’

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन् ।

स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने –‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन । अहिले पनि हाम्रो धर्ना जारी रहेको छ ।’ धनगढीका १९ वडा स्वास्थ्य संस्थामध्ये अहिले केही स्वास्थ्य संस्थामा करारका कर्मचारीले सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । ‘अहिले एक स्वास्थ्य संस्थामा एकदेखि दिन जना स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको छ । त्यसैमा केही स्वास्थ्य संस्थाको जिम्मेवारी करारका कर्मचारीले लिएर सञ्चालनमा छ ।’