महेन्द्रनगर नगर विकासको जमिन लिज प्रकरणमा १४० जना विरुद्ध ३ छुट्टाछुट्टै मुद्दा
2023/07/26, 9:37
 
ss

तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा किनबेच गरेको आरोपमा थप जनाका नाममा मुद्दाको तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले जनाएको छ। यसअघि समितिका तत्कालीन अध्यक्षहरू पल्टु राना, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख बिसन सिंह थापासमेत २५ जना, तत्कालीन अध्यक्ष कान्तुराम पनेरूसहित २२ जना, तत्कालीन अध्यक्ष गोपाल रसाइलीसहित ६४ जनाविरुद्ध छुट्टाछुट्टै तीनवटा मुद्दा दर्ता भएर सुनुवाईको प्रक्रिया जारी छ। तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणमा दोस्रो चरणको अनुसन्धान चलिरहेको छ।

थप १८० जनाका नाममा मुद्दाको तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।तत्कालीन नगर विकास समितिका अध्यक्षदेखि कर्मचारी, मालपोत र नापी कार्यालयका प्रमुखदेखि कर्मचारी र जमिन खरिद गर्नेलगायतका नाममा मुद्दा दर्ता भएको थियो। अख्तियारले तत्कालीन दुई अध्यक्ष, नगर विकास समिति, मालपोत र नापी कार्यालयका प्रमुखसहित १५ कर्मचारी र ४७ जना जमिन खरिद गर्नेहरूविरुद्ध मुद्दा दर्ता गरेको थियो।

उनीहरूबाट दुईदेखि तीन करोडसम्म विगो माग गरिएको छ। महेन्द्रनगर नगर विकास समितिको मातहतमा महेन्द्रनगर बजार क्षेत्रमा रहेको जग्गा लिज र बिक्री गर्ने नाममा अध्यक्षहरूले तोकादेशका भरमा बिक्री वितरण गरेका थिए। २०३५ मा गठन भएको नगर विकास समितिको नाममा ६३८ बिघा जमिन थियो। तर, हाल समितिको नाममा करिब ६० बिघा मात्रै जमिन बाँकी छ। २०६७ पछि नियुक्त भएका अध्यक्षहरूले आफू निकटका व्यक्तिहरूलाई तोकादेशका आधारमा जमिन बिक्री वितरण गरेका थिए। व्यवस्थित बजारका रूपमा चिनिने महेन्द्रनगर जथाभावी जमिन बिक्री तथा लिजमा दिएकै कारण पछिल्लो समय अव्यवस्थित बन्दै गएको छ।