धनगढी(दिपायल द्रुतमार्गको सडक निर्माणको काम अलपत्र पर्दै, बनाइएको सडक पनि गुणस्तरहिन
2023/07/29, 2:14
 
ss

धनगढी–बीपीनगर–दिपायल द्रुतमार्गको सडक अलपत्र पर्न थालेको भन्दै चिन्ता ब्यक्त गरिएको छ। सदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि धनगढी–बीपीनगर–दिपायल द्रुतमार्गका लागी बजेट नछुट्याएको भन्दै डोटीवासीले सडक आयोजनालाई नै उपेक्षा गरेको र अलपत्र पर्न थालेको भन्दै चिन्ता ब्यक्त गरेका हुन्।

तर उक्त सडक आयोजना संघ सरकार मातहत रहेको बताइएको छ। प्रदेश सरकारको पारित बजेटमा सो योजनाको नामै उल्लेख नगरेपछि बजेटबिना सडकको भविष्य नै अन्योलमा परेको र सडक आयोजनालाई उपेक्षा गरेको आरोप डोटीवासीको छ। डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक खड्काले संघीय सरकारले समेत यो सडकलाई उपेक्षा गरेको बताएका छन्। धनगढीदेखि दिपायल द्रुतमार्ग बझाङ हुँदै उरै भन्ज्याङसम्म जोड्ने महत्त्वाकांक्षी योजना बजेट अभावकै कारण ०६६ साल यताबाट अलपत्र पारिँदै आएको उनले बताए।

धनगढी–खुटिया–बीपीनगर–दिपायल–बझाङ–उरै भन्ज्याङ सडक आयोजना बीपीनगरका इन्जिनियर दिनेश रैखोलाले धनगढीदेखि उरै भन्ज्याङसम्म १ सय ८६ किलोमिटर दुरीको सडक निर्माणका लागि ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताए। तर सो सडकमा हालसम्म जम्मा ७२ करोड रुपैयाँमात्र बजेट संघ सरकारले दिएकोमा यो आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । डोटी कांग्रेसका सभापति नरेन्द्रबहादुर सिंहले पटकपटक पहल गर्दा पनि प्रदेश र संघीय सरकार जवाफदेही हुन नसकेको आरोप लगाए। डोटीमै पुगेर यस अघिका मुख्यमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतासमेत प्रदेश सरकारले पूरा नगरेको उनले बताए।

उनले हालसम्मका सबै सरकारबाट यो सडकलाई राजनीतिक एजेन्डा बनाउने तर सत्तामा पुगेपछि बेवारिसे छाड्ने काममात्रै भएको बताए। द्रुतमार्ग निर्माण सम्पन्न भएमा हाल धनगढीदेखि दिपायलसम्मको २ सय १० किलोमिटर दुरी छोटिएर ९६ किलोमिटर हुनेछ। यो मार्गले ७ वटै पहाडी जिल्लालाई राहत दिने विश्वास स्थानीयमा छ। यो सडकलाई पश्चिम नेपालको भाग्यरेखासमेत भनिदै आएपनि सरकारले बेवास्ता गर्नु खेदजनक रहेको आदर्श गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले बताए। पालिका प्रमुखहरूले संयुक्त रुपमा संघीय र प्रदेश सरकारसँग आयोजनालाई आवश्यक बजेट उपलब्ध गराएर प्राथमिकताका साथ सडक निर्माण गरिनुपर्ने माग राख्दा पनि सुनुवाइ नगरिएको अध्यक्ष खड्काले बताए।

काम सुरु भएको १४ वर्षपछि गत वर्षमात्रै धनगढीदेखि दिपायलसम्म सडकको ट्रयाक खोल्ने काम सकिएको छ । त्यो पनि ठाउँ ठाउँमा पहिरो खस्दा, खोल्साखोल्सी तथा सिंगल ट्रयाक भएका कारण सञ्चालन नभएको बताए । मापदण्डमा सडकको चौडाइ ९ मिटर हुनुपर्ने उल्लेख भए पनि ४० किलोमिटर सडकखण्डमा साढे ५ मिटर चौडाईमात्र भएको सिंगल कटिङ गरिएको छ ।इन्जिनियर रैखोलाले सरकारसँग कुलपातेदेखि सलेनासम्म कालोपत्रेका लागि बहुवर्षीय योजना बनाई बजेट माग गरिएको बताए। यस्तै धनगढी–खुटिया–विपीनगर–दिपायल–बझांङ–उरैभन्ज्याङ सडकअन्तर्गतको दिपायल एयरपोर्टदेखि तिखा सडक खण्डको कालोपत्रे निर्माण कार्य गुणस्तरीय नभएको स्थानीयको आरोप रहेको छ। अनुगमनका क्रममा स्थानीय तथा अनुगमन समितिले सडक निर्माण कार्य कमसल र कैफियत रहेको गुनासो गरेका हुन् । डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसमेत कालोपत्रे निर्माणमा केही कमजोरी देखिएको र विवादका कारण खैरतोला क्षेत्रमा निर्माण कार्य रोकिएको बताए । सडकका मोडहरूमा खाल्डाखुल्डी रहेको भन्दै निर्माण व्यवसायीले सुधार्नुपर्ने सुझाब दिएका छन्।