कैलाली र कञ्चनपुरमा फैलियो आँखा पाक्ने रोगको संक्रमण, यसबाट कसरी जोगिने ?
2023/07/30, 9:55
 
ss

सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिएको छ। पछिल्लो केही दिनयता दुवै जिल्लामा कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा आँखा सम्बन्धी समस्या लिएर आउने बिरामीहरुको भीड बढेको छ।गेटा आँखा अस्पतालका प्रमुख डाक्टर सुरेशराज पन्तले कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरलको संक्रमणका कारण भएको बताए ।

गेटा आँखा अस्पतालसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधाराचाँदनी लगायतका स्थानमा रहेका आँखा उपचार केन्द्रमा कन्जक्टिभाइटिस भाइरलका समस्या लिएर आउने बिरामीको चाप बढेको पन्तले बताए । ‘अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । यो कन्जक्टिभाइटिस भाइरलका कारणले भएको हो,’ पन्तले भने, ‘गेटा आँखा अस्पताल, कैलाली र कञ्चनपुरमा रहेका उपचार केन्द्रहरुमा दैनिक यी समस्या भएका बिरामीहरु आइरहनुभएको छ । ओपीडीमा चेकजाँच गर्ने मध्ये ५० प्रतिशत बिरामी कन्जक्टिभाइटिस भाइरलसँग सम्बन्धित समस्या भएका छन् ।’

उनका अनुसार गेटा आँखा अस्पतालमा मात्र दैनिक १०० जना बिरामी कन्जक्टिभाइटिस भाइरलका आइरहेका छन्। यो सामान्य किसिमको भाइरल भएकाले एकदेखि डेढ हप्तासम्म आफै निको हुने बताउदै डाक्टर पन्तले कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्। उनले भाइरलको संक्रमण भएको समसयमा ब्याक्टेरियल इन्फेक्सन हुने जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर एन्टिबायटिक औषधी खान सुझाव दिएका छन्।

‘यो दीर्घकालीन असर गर्ने खालको नभएर सामान्य किसिमको भाइरल हो। एकदेखि डेढ हप्तासम्म निको हुन्छ । औषधी जरुरी छैन, तर कहिलेकही यो सँगै ब्याकटेरियल इन्फेक्सन हुनसक्छ,’ पन्तले भने, ‘त्यो नहोस् भनेर एन्टिबायटिक औषधीको प्रयोग गर्नुपर्छ । कसैलाई निको भएपछि कर्नीयामा असर गरेमा सेतो दाग देखिन सक्छ त्यो भए नेत्र विशेषज्ञलाई देखाएर उपचार गराउनुपर्ने हुन्छ ।’ यो भाइरल एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलिने डाक्टर बताउँछन्।