होटलमासंगै बसेका पुरुषको मृत्यु भएपछि महिला पक्राउ
2023/07/30, 7:53
 
ss

कञ्चनपुरको महेन्द्रनगरस्थित होटलमा संगै बसेका पुरुषको मृत्यु भएपछि उनीसंगै रहेकी महिला पक्राउ परेकी छन् । मृत्यु हुने र पक्राउ पर्ने दुबै जना धनगढीका बासिन्दा हुन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ भगवती टोलका बस्ने ३७ वर्षीय विष्णु पनेरु रहेका छन् । उनीसंगै होटलमा रहेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रनगरको बसपार्क स्थित ट्राफिक चोक नजिकैको डिलाइट होटलमा शुक्रबार बेहोस भेटिएका पनेरुको शनिवार उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । पनेरुको मृत्यु भएपछि सापकोटालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको डिएसपी कुलदीप चन्दले बताए ।

सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उनले बताए । उनकाअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । धनगढीबाट महेन्द्रनगर संगै गएका उनीहरु राति महेन्द्रनगरको बसपार्क स्थित ट्राफिक चोक नजिकैको डिलाइट होटल बसेका थिए । जहाँ पनेरु बेहोस अवस्थामा भेटिएका थिए ।