केन्द्रको भरपर्दा सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकस
2023/07/30, 7:57
 
ss

गत मंगलबार ९साउन ९ गते० नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य रामेश्वर चौधरी मन्त्री र लक्ष्मण चौधरी राज्यमन्त्री पद सम्हाल्ने तयारीमा थिए । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा नाम सिफारिस भइसक्दा समेत सो दिन उनीहरुले नियूक्ति लिन पाएनन् ।

पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको हष्ताक्षरमा मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने पत्र पठाएपछि सो दिन पूर्णता पाउनै लागेको सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डल पुनः अन्यौलतामा छ ।

प्रदेशको मन्त्रीमण्डललाई पूर्णता दिलाउन शुक्रबारदेखि यस प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह शिर्ष नेताहरुसंग भेटघाटमा छन् । पटक–पटक केन्द्रका शिर्ष नेताहरुसंग भेटघाट गर्दा पनि उनले प्रदेशको मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्री शाहको केन्द्रमा मुख ताक्ने प्रवृतिका कारण निर्णय क्षमतामा प्रश्न उठिरहेको छ । 

२०७९ साल माघ २७ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले दुई पटक मन्त्रीमण्डल विस्तार गर्दा समेत पूर्णता दिन सकेनन् । नियूक्त भएको दोस्रो दिन पद तथा गोपनियताको सपथ लिने क्रममा भौतिक पूर्वाधार मन्त्रीमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा र आर्थिक मामिला मन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नरेश कुमार शाहीलाई नियूक्त गरे ।

मुख्यमन्त्रीमा नियूक्त भएको झण्डै चार महिनापछि दोस्रो पटक उनले मन्त्रीमण्डल विस्तार गरे । तर, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय नपाएसम्म सरकारमा भाग नलिने भनेपछि उनले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियूक्त गर्न सकेनन् । त्यसयता सो मन्त्रालयको जिम्मेवारी उनी स्वयमले लगेका छन् ।

यहि असार ५ गते डडेल्धुरादेखि बझाङ जाने क्रममा सवारी दुर्घटना हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि अहिले मन्त्रालय मन्त्रीविहिन रहेको छ । मुख्यमन्त्री शाह सो मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेस प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने आन्तरिक मनसायमा थिए । तर, उन्मुक्तिले मंगलबार अबेरपछि सरकारमा नजाने भनेपछि मन्त्रीमण्डलले पूर्णता पाउन सकेनन् ।

शुक्रबारदेखि मुख्यमन्त्री शाहले मन्त्रीमण्डललाई पूर्णता दिलाउन केन्द्रका शिर्ष नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग भेटघाट गरिसकेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उन्मुक्तिका नेता रेशमलाल चौधरीसंग भेटघाट गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री शाह भन्छन् –‘छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ । कहिले भन्न सक्दैन । हामी छलफलमै छौं ।’ उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने अडान कायम गर्दा मन्त्रीमण्डलले पूर्णता पाउनमा बाधा देखिएको छ । एक मन्त्री र एक राज्यमन्त्री लिएर गत मंगलबार सरकारमा जान तयार रहेका प्रदेश सभा सदस्यहरुलाई केन्द्रले पत्र पठाउँदै भागवण्डामा कुरा नमिलेको भनेर सरकारमा नजान उर्दी जारी गर्दा समस्या भयो ।

सरकारले पूर्णता नपाउँदै प्रदेशका प्रदेश सभा सचिवालयमा विजनेस नहुँदा दोस्रो अधिवेशनको अर्को बैठक अनिश्चित छ । साथै मन्त्रालय मन्त्रीविहिन हुँदा मन्त्रालयका केही नीतिगत कुराहरु अघि बढ्न सकेका छैनन् ।

सत्तासाझेदारी दलबिच भागवण्डामा कुरा नमिल्दा प्रदेश सभाका चार वटा विषयगत समिति पनि सभापति विहिन बनेको छ । ती समितिका कुनै बैठक बस्नु परेमा ज्येष्ठताका आधारमा अध्यक्षता ग्रहण गराइ काम गर्नुपरिरहेको छ ।

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेश सरकार जनताको पक्षमा भन्दा पनि आफनो सत्ता टिकाउनमा केन्द्रित भएको बताए । उनले भने –‘समयमै मन्त्रीमण्डल पूर्णता पाउनुपर्ने थियो । सभाका विषयगत समितिका सभापति अहिलेसम्म तोकिसक्नुपर्ने थियो । विजनेशविहिन बनेको सभाका बैठकलाई छिटो अघि बढाउन सक्नुपर्ने थियो । तर, सरकारको ध्यान आफनो सत्ता टिकाउनमा मात्र केन्द्रित भयो ।’