डडेल्धुरा अस्पताललाई ५०० शय्याको बनाउने प्रस्ताव, १९८ डाक्टरसहित १०८७ दरबन्दी
2023/07/30, 8:02
 
dd

डेल्धुराको डडेल्धुरा अस्पताललाई ५ सय शय्याको बनाउने प्रस्ताव अगाडि बढेको छ । अस्पतालले ओ एण्ड एम सर्भे गर्दै अस्पताललाई ५ सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको हो । अस्पतालका निमित्त मेसु डा। चेतराज भट्टका अनुसार मन्त्रालयले विभिन्न चरणमा छलफल गरेर स्विकृत गर्दै अर्थ मन्त्रालय पठाएको छ । त्यहाँबाट अगाडि बढेको छैन ।

उक्त प्रस्ताव पारित भए ४० विभाग र ४० एकाईका ५ सय शय्या सञ्चालन हुनेछन् । अस्पतालमा १२औं तहको निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दी हुनेछ । अहिले अस्पतालमा एक सय शय्या मात्रै सञ्चालनमा छ । दरबन्दी पनि उपक्षेत्रीय अस्पतालको मात्रै स्विकृत भएको छ । यस्तै अस्पतालले आज गत आर्थिक वर्षको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालका सूचना अधिकारी टंक पन्तले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनका अनुसार गत वर्ष अस्पतालबाट एक लाख ४९ हजार ४९० जनाले स्वास्थ्य सेवा पाएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य डाक्टर ताराप्रसाद जोशीले संघिय सरकार मातहतको अस्पताल भए पनि डडेल्धुरा अस्पतालप्रति प्रदेश सरकारलाई पनि नैतिक रुपमा जिम्मेवार बनाउन पहल गर्ने बताए ।

०१८ सालदेखि विभिन्न नामले सञ्चालित अस्पताल ०७५ फागुन ५ गते विशिष्ट विशेषज्ञ सेवा सहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो । नाममा विशिष्ट अस्पताल भए पनि अहिलेसम्म उपक्षेत्रीयको दरबन्दीअनुसार पनि कर्मचारी छैनन् । ०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्विकृत भएको थियो । स्विकृत दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो । तर ८औं तहका मेसुले अस्पताल सञ्चालन गरिरहेका छन् । दरबन्दीमा ९औं र १०औं तहका एकजना पनि चिकित्सक कार्यरत छैनन् । १०९ जनाको स्विकृत दरबन्दी रहेकोमा ४७ पद रिक्त रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सेवा सुधारका लागि विकास समिती लागिपरेको बताए । अस्पतालमा सबैभन्दा ठूलो समस्या दरबन्दीअनुसार कर्मचारी नहुनै रहेको उनले बताए । ‘यहाँ भएका विशेषज्ञ चिकित्सक स्वास्थ्य मन्त्रालयले सरुवा गरेर अन्यत्र लैजाने तर यहाँ कसैलाई पनि नपठाउने गर्दा समस्या भएको हो,’ उनले भने ।