सुदूरपश्चिम ११ स्पोर्टस क्लबद्वारा पटेला स्मार्टलाई खेल सामाग्री सहयोग 
2023/07/31, 9:58
 
ss

 सुदूरपश्चिम ११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । पटेलास्थित फुटवल मैदानमा  एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम ११ का अनुसार पटेला स्मार्टलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष शुरेस हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग खेल सामग्री हस्तान्तरण गरे । 

धनगढीको ग्रामिण इलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्धेश्यका साथ सुदूरपश्चिम ११ फुटबल क्लबले खेल सामाग्री सहयोग गरेको हो ।  साथै  दुई क्लबले दुई वर्षको रणनीतिक सम्झौता समेत गरेका छन् ।  सुदूरपश्चिम ११ फुटबल क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको सामाग्री सहयोग सुदूरपश्चिम ११ ले गर्नेछ । 

सुदूपश्चिम ११ फुटबल क्लबका अध्यक्ष सुरेश हमालले ग्रामिण क्षेत्रमा रहेका फुटबलरलाई राम्रो प्रशिक्षण दिने उद्धेश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरिएको बताए । उनले यस सम्झौताबाट ग्रामिण क्षेत्रमा रहेका फुटबलरले नियमित रुपमा प्रशिक्षण गर्न पाउने र उत्कृष्ट  खेलाडीले सुदूरपश्चिम ११ बाट राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न अवसर पाउने बताए । 

क्लबको आन्तरिक ब्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने, पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम ११ ले सहयोग गर्ने विषयमा सम्झौता भएको हमालले बताए । 

सुदूरपश्चिम ११ फुटबल क्लब पश्चिम नेपालको प्रतिष्ठित फुटबल क्लबको रुपमा रहेको छ । जसले हरेक वर्ष सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै नेपालका प्रतिष्ठित फुटबल प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने गरेको छ । साथै एन्फाको सी डिभिजन छनोट कार्यक्रममा समेत खेल्दै आएको छ । 

‘पटेला स्मार्ट क्लबसंग सहकार्य गर्दै प्रतियोगितामा सहभागी हुनेछौँ ।’ हमालले थपे, ‘यहाँका खेलाडीको क्षमता अभिबृद्धि गर्न एक जना पुरुष र एक जना महिला प्रशिक्षक खटाएका छौँ । सक्दो मेहेनत गर्नुहोला, फुटबलप्रति माया भएकामात्र खेल्न आउनुहोला, समय बर्वाद गर्न कोही नआउनुहोला ।’  पटेला स्मार्ट क्लवका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम ११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने बताए । उनले सुदूरपश्चिम ११ सँगको सम्झौता दुई वर्ष मात्र नभएर लामो समयका लागि आवश्यकता रहेको उल्लेख गरे ।  

खेल सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश फुटबल संघ सुदूरपश्चिमका उपाध्यक्ष राघव कार्की, क्लबका प्रमुख सल्लाहकार पतिराम चौधरी, फुटबल संघका सुदूरपश्चिम सदस्य हेमकर्ण रञ्जितकार, फुटबल संघ कैलालीका निबर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवा क्लबका अध्यक्ष निरज बिष्ट, क्लबका कार्यसमिति सदस्य खडक शाह लगायतको उपस्थिती थियो ।